सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि दुई इन्जिनियरको मृत्यु , एक जना गम्भिर घाइते — OSNepal

सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि दुई इन्जिनियरको मृत्यु , एक जना गम्भिर घाइते

LC (KTM) December 27, 2021 0

सोलुखुम्बु १२ पौष । निमार्णाधिन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएको छ । जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इन्जिनियरको ज्यान गएको हो ।

सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट भएको हो । मृत्यु हुनेमा अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापा रहेका छन् ।

रेग्मी उक्त जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर हुन् ।

सिई कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर गंगेश कर्णले दिएको जानकारी अनुसार पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना हुँदा विस्फोटनमा परी बेहोस भएका दुवैलाई उपचारको लागि ओखलढुंगा अस्पताल लगिएको भएपनि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरिदिएको हो ।

यस विस्फोटनमा परी हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगर निवासी मोहम्मद राइन गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । जानकारी अनुसार उनको कम्मर मुनीको भाग नचल्ने अवस्थामा रहेको बताइएको छ । अहिले उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार साँझ फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि यो दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर