काठमाडौं, ८ पुस – टोरिनोलाई १-० अन्तरले पराजित गर्दै इन्टर मिलानाले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३०औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अंक पर्याप्त बन्यो ।
राति नै भएको अन्य खेलमा एसि मिलानले इम्पोलीलाई ४-२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो । नेपोली भने स्पेजियासँग १–० ले स्तब्ध बन्यो ।
घरेलु मैदानमा रोमा साम्पडोरियासँग १–१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोहि नतिजा निकाले । लाजियोले १० खेलाडीमा सिमित भेनेजियालाई ३–१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३–० ले पराजित गरेकाे छ ।
जितसँगै इन्टर १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान ४२ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंकको नेपोली तेस्रो स्थानमा छ ।
रामोसले रातो कार्ड पाएको खेलमा इकार्डीले पीएसजीलाई बचाए : सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् ।
बुधबार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । ८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे ।
खेलको इन्जरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए । जितसँगै पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ ।