काठमाडौं, ८ पुस । सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् ।
बुधबार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।
८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे । खेलको इन्जरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए ।
जितसँगै पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ ।
बेन्जेमाले दुई गोल गर्दा रियललाई आठ अंकको अग्रता : फरवार्ड करिम बेन्जेमाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा जित हासिल गर्दै रियल मड्रिडले तालिकामा आठ अंकको अग्रता बनाएको छ । बुधबार राति भ्रमणकारी टोली रियलले एथ्लेटिको क्लबमाथि २–१ अन्तरको जित निकालेको हो । बिबाओमा भएको खेलमा बेन्जेमाले खेलको ४ र ७ मिनेटमा लगातार दुई गोल गरेपछि रियलले सुरुआतबाटै खेलमा पकड बनाएको थियो ।
१०औँ मिनेटमा आइहान सानसेटले एथ्लेटिकोको लागि अन्तर घटाएपनि खेलमा फर्कन सकेन । जितसँगै रियलले १९ खेलबाट ४७ अंक बनाएको हो । दोस्रो स्थानको सेभियाको ३८ अंक रहेको छ । सेभिया अघिल्लो रात बार्सिलोनासँग रोकिएको छ । पराजित एथ्लेटिकोको समान खेलबाट १९ अंक सहित १० औं स्थानमा छ ।
राति नै भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड ग्रानडासँग २-१ अन्तरले पराजित भयो । ग्रानडाको घरेलु मैदानमा जोआओ फेलिक्सको गोलमा एट्लेटिकोले दूई मिनेटमै अग्रता बनाएको थियो ।१७औँ मिनेटमा डार्विन माचिसले बराबरी गोल गरे । ६१औँ मिनेटमा जर्ज मोलिनाले विजयी गोल गरे । हारसँगै एट्लेटिको २९ अंकसहित पाँचौ स्थानमा झरेको छ ।