काठमाडौं । धेरैलाई जीवनमा कुनै न कुनै बेला पिनासले सताएकै हुन्छ । अझ कोही–कोही त पिनासको दीर्घरोगी नै हुन्छन् । पहिले–पहिले रुघाखोकी लागे पनि समयमै उपचार नगर्ने कारण पिनास हुनेको संख्या धेरै हुन्थ्यो। तर पछिल्लो समय रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्ने चलन बढेकाले पिनास हुनेको दर घटेको चिकित्सक बताउँछन् । नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ । यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ । रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थालाई पिनास भनिन्छ ।
रुघा लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन् । कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ । वातवरणाीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ ।
पिनास हुने दोस्रो कारण हो, रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु । यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन । यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ । यस्तो अवस्थामा पिनास हुन्छ ।
पिनास हुने तेस्रो कारण हो, नाकको हड्डी बांगो हुनु । नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ । यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ । यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छन् । यस्तो अवस्थामा पनि साइनसमा संक्रमण भइ पिनास हुन्छ ।
पिनासका लक्षणहरु
पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सुङ्ने शक्तिमा कमि आउँछ । कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ ।
टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन् । पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ ।
एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।
टाउको दुख्ने, अनुहारका भागहरू दुख्ने, नाक बन्द हुने, नाकबाट बाक्लो सिंगान बग्ने, मुखबाट खकार आउने, खोकी लागिरहने, नाकले कुनै बास्ना, गन्ध थाहा नपाउने, आँखाको अगाडि र तलको भाग दुख्ने, नाकको छेउछाउमा दुख्ने, बिहानको समयमा टाउको बढी दुख्ने, सुँघ्ने शक्ति कमजोर हुने, नाकबाट सास फेर्न नमिल्ने, र कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान बग्ने लक्षण देखापर्छ ।
उपचार
नेपालमा पिनासको उपचार निजी तथा सरकारी सबै अस्पतालमा हुन्छ। काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, निजी मेडिकल कलेज तथा अस्पतालमा यसको शल्यक्रिया हुन्छ । कतिपय अवस्थामा एन्टिबायोटिक औषधिको प्रयोगले पनि पिनास निको हुन्छ ।
एन्टिबोयोटिकले निको नभएपछि मात्र नाकको हड्डी शल्यक्रिया गरिन्छ । एलर्जी समस्या भएका बिरामीले भने चिकित्सकको सिफारिसमा लामो समय औषधि खानुपर्छ । सँगसँगै आफूलाई कुन कुराले एलर्जी हुन्छ त्यो पत्ता लगाएर त्यसबाट बच्नुपर्छ ।
चिकित्सकका अनुसार नाकको हड्डी बांगो भएका कारणले पिनास भएको हो भने त्यसको शल्यक्रिया गर्न सकिन्छ । शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूले भने चिकित्सकको सल्लाहमा केही बढी समय नियमित एन्टिबायोटिक सेवन गरेर पिनास निको पार्न सकिन्छ ।
बारम्बार रुघा लागेपछि पिपमा परिणत भएर प्वालमा भरिन्छ । टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट बाग्लो सिंगान बग्ने, मुखबाट खकार निस्कने, अनुहार दुख्ने, खोकी लागिरहने, नाकले केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन् ।
समयमै पिनासको उपचार नभए यसले जटिल रूप लिने चिकित्सक बताउँछन् । नाकको बाटो हुँदै पिनासको पिप मस्तिष्कमा पुग्न सक्छ । मस्तिष्कमा पिप जम्यो भने ब्रेन एक्सिस (मस्तिष्कमा संक्रमण) र मेनेन्जाइटिस हुन्छ । साथै निमोनिया हुने, आँखामा खराबी आउने, साइनस मक्किने समेत हुन्छ ।