काठमाडौं, ७ पुस । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो ।
खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो । उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे ।
हाफ अघिनै बार्सिलोनाले खेल बराबरीमा ल्यायो । ४५ मिनेटमा औसमाने डेम्बेलेको पासमा रोनाल्ड अरौजोले गोल गर्दै भ्रमणकारी टोलीलाई बराबरीमा ल्याए । खेलको ६४ मिनेटमा सेभिया १० खेलाडीमा सिमित भयो । उसका जुल्स कोउन्डेले सिधै रातो कार्ड ब्यहोरेका थिए ।
पछिल्लो समय बार्सिलोनाले खराब प्रदर्शन गरिरहेको छ भने सेभिया भने उच्च प्रदर्शन गर्दै उपाधि दाबेदारी प्रस्तुती दिरहेको छ ।
बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा छ । यता, बार्सिलोना समान खेलबाट २८ अंकसहित सातौं स्थानमा छ । गय राति नै भएको भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ अन्तरले पराजित गरेको छ ।