डडेल्धुरामा कोरोना सङ्क्रमणको दर घट्दै — OSNepal

डडेल्धुरामा कोरोना सङ्क्रमणको दर घट्दै

LC (KTM) May 30, 2021 0

डडेल्धुरा, १६ जेठ – यहाँ कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् ।कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्नेसमेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसैगरी यहाँ अस्पताल आउने बिरामीको पनि सङ्ख्यामा कमी आएको छ । करीब एक सातायतादेखि अस्पतालमा ज्वरोका बिरामीको ५० प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा भने कोरोना सङ्क्रमण बढेकाले स्थानीय तहले कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।दुई साता पहिले जिल्लामा कोरोना महामारीसँगै भाइरल ज्वरो र मौसमी बिरामीको सङ्ख्या बढी थियो तर पछिल्लोे समयमा केही कमी आएको छ । खानपिन र सरसफाइका साथै व्यक्तिगत सुरक्षाका कारण र स्वास्थ्य मापदण्डअनुसार जनता सचेत हुँदा बिरामीको सङ्ख्यामा कमी आएको हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर