काठमाडाैं, ५ पुस -काठमाडाैं उपत्यकाकाे न्यूनतम तापक्रम ३.६ डिग्रीसेल्सियस मापन गरिएकाे छ । आइतबारकाे भन्दा ०.६ डिग्रीसेल्सियसले तापक्रममा सुधार आएकाे हाे । आइतबार काठमाडाैंकाे न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्रीसेल्सियस मापन भएकाे थियाे ।
‘अधिकतम तापक्रम दिउँसाे मात्र थाहा हुन्छ । तर आज न्यूनत तापक्रममा हल्का सुधार आएकाे छ,’ माैसम पूर्वानुमान महाशाखाका माैसमविद् मञ्जु वासीले भनिन्, ‘यसकाे अर्थ अब तापक्रम घट्दैन भन्ने हाेइन । हिउँद गहिरिदै जाँदा चिसाे अझ बढ्छ ।’
काठमाडाैंमा मंसिर दाेस्राे सातादेखि चिसाे बढ्न थालेकाे हाे । देशभर चिसाे बढेकाे छ । सबैभन्दा कम तापक्रम जुम्लामा मापन भएकाे छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेकाे छ । तराईमा हुस्सु/कुहिरो लाग्ने गरेकाे छ ।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । दिउँसाे बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ ।मंगलबार उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।