काठमाडौं, ५ पुस- फ्रेण्ड्स क्लब र विभागीय टोली एपीएफ फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशन जोनमा छन् ।
फ्रेण्ड्स २ र एपीएफ १ अंकसहित क्रमश: १३ औँ र १४औँ स्थानमा छन् ।
सोमबार पाँचौ चरणको अन्तिम खेलमा दशरथ रंगशालामा भिड्दै गर्दा दुबै टोलीको लक्ष्य ३ अंक हुनेछ । दुबै टोली तीन अंक लिँदै रेलिगेशन जोनबाट उम्कने दाउँमा हुनेछन् । यदि बराबरीले भने सोही स्थानमा रहनेछन् ।
खेल दिउँसो १ बजे सुरु हुनेछ । जारी लिगमा ५ खेलबाट १३ अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । ११ अंकको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ।
इंग्लिस प्रिमियर लिग : चेल्सी र लिभरपुल रोकिए : उपाधि दाबेदारीमा म्यानचेष्टर सिटीसँगै दौडमा रहेका चेल्सी र लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएका छन् । चेल्सी उल्भ्ससँग गोलरहित बराबरीमा रोकियो । उल्भ्सको घरेलु मैदान मोलिनेउक्समा भएको खेलमा चेल्सी अंक बाँड्न बाध्य भएको हो । बल पोसेसनमा पकड बनाएपनि चेल्सी अग्रपंक्तिमा चुकेको थियो ।
राति नै भएको खेलमा १० खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग रोमाञ्चक बराबरीमा रोकियो । निकै नै प्रतिस्पर्धात्मक खेल २–२ गोल अन्तरमा सकिएको थियो ।लण्डनमा भएको खेलमा टोटनहमले सुरुआती अग्रता बनायो । टोटनहमका फरवार्ड ह्यारी केन र हङ मिन सनले १-१ गोल गरे । लिभरपुलका लागि डियगो जोटा र आन्द्रे रोबर्टसनले १-१ गोल गरे ।
खेलको १३औँ मिनेटमा केनले गोल गर्दे घरेलु टोलीलाई अग्रता दिलाए । ३५औँ मिनेटमा डिअगोले लिभपुरलाई बराबरीमा ल्याए भने ६९औँ मिनेटमा रोबर्टसनले भ्रमणकारी टोली लिभरपुललाई २-१ को स्थितिमा ल्याए । हार उन्मुख रहेको टोटनहमका लागि सनले ७४औँ मिनेटमा गोल गर्दे २-१ को बराबरीमा ल्याए ।
बराबरीसँग लिभरपुल उपाधि दौडमा ३ अंकले पछि परेको छ । आइतबार राति भएको खेलमा सिटीले घरेलु टोली न्युक्यासललाई ४-० अन्तरले पराजित गर्याे । जेम्स पार्कमा भ्रमणकारी टोली सिटीलाई जिताउँन रुवेन डियस, जोआओ कनसेलो, रियाद माहरेज र रहीम स्टर्लिङले १-१ गोल गरे ।
जितसँगै सिटीले शीर्षस्थानको उपाधि दौडमा रहेका लिभरपुल र चेल्सीसँग ३ अंकको अग्रता बनाएको छ । १८ खेल सकिँदा सिटीले ४४ अंक बनाएको छ भने लिभरपुल ४१ र चेल्सी ३८ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।