बाल्यकालमा शिक्षकले ठुलो भएपछि के बन्ने भनेर कसैलाई सोधे सबै बालबालिकाको प्राय : एउटै किसिमको जवाफ आउने गर्छ त्यो हो डाक्टर, इन्जिनियर, पाइलट, पुलिस आदी इत्यादी । तर चितवनका सुरज पोख्रेलको भने सानै देखीको ईच्छा थियो हिरो बन्ने । चितवनमा बसेर अभिनयको यात्रामा दौड लिइरहेका ३५ बर्षिय सुरज भन्छन्– शिक्षकले सानामा कक्षामा उठाएर सोध्नु हुन्थ्यो के बन्ने बाबू भनेर ।
म निर्धक्कका साथ भन्ने गर्थे म हिरो बन्छु सर । उनै सुरजलाई अहिले सर्ट मुभी तथा म्युजिक भिडियोहरुमा भ्याई नभ्याई भईरहेको छ । मध्यम बर्गीय परिवारमा हुर्के बढेका सुरजले अहिले सम्म आधा दर्जन भन्दा बढी शर्ट मुभीमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरिसकेका छन् । त्यस्तै केही म्युजिक भिडियोमा खेलिसकेका छन् भने केहीका लागि अफरहरु आईरहेको उनी बताउँछन् ।
सुरजले जीवन साथी, हाम्रो नाता, तिमी नारी, मेरो भगवान,कलेज लाईफ, युवा शक्ति लगायतका आधा दर्जन भन्दा बढी शर्ट मुभिहरुमा खेलिसकेका छन् । पछिल्लो समय उनले चर्चित गायक निशान भट्टराईको छुटाउने दैब बोलको गीतको म्युजिक भिडियोमा समेत आफ्नो अभिनयलाई दर्शक माझ पस्किसकेका छन् । सानो पर्दामा ब्यस्त रहेका सुरज ठुलो पर्दाका लागि समेत तयारी अवस्थामा रहेका छन् ।
सानामा एकदमै चन्चले स्वभावका रहेका सुरज आफ्नो बिगत संझदै भन्छन्– म सानै देखी नाँचि रहने उफ्री रहने गर्न मन पराउँथे । मैले बिभिन्न कार्यक्रममा नाँचे सानोमा । सानै देखीको यो क्षेत्रमा आउने सोच बल्ल परिस्थिती अनुकुल हुदैछ । अब यहि क्षेत्रलाई अघि बढाउने योजनामा रहेको छु । यो क्षेत्रमा आउन संघर्ष र धैर्यताको खाँचो अति आवश्यक रहेको सुरज बताउँछन् ।
सुरजको प्याट्रन भने लभस्टोरी रहेको छ । उनी लभस्टोरी, माया प्रेमका प्रेमिल भुमिका गर्न अत्यन्तै मन पराउँने गर्छन् । यो क्षेत्रमा आउन सबैभन्दा ठुलो योगदान आफ्नी आमाको रहेको सुरजले बताए । प्रेरणा आफ्नी आमा बाट मिले पनि उनको रोल मोडल अर्थात आइडल भनेको नायक रमेश उप्रेती हुन् । उनी भन्छन्– मलाई नायक रमेश उप्रेती सारै मन पर्छ । उहाँको एउटै फिल्म नछुटाई हेरेको छु । सुरजको एउटा रमाइलो किस्सा समेत रहेको छ ।
जब उनी कक्षा ९ मा अध्ययन गर्दै थिए त्यतिबेला स्कुल बंक गरेर रमेश उप्रेतीको फिल्म हेर्न गएको । उनले भने– म कक्षा ९ मा पढ्थे त्यतिबेला स्कुलमा २ घण्टी पढेर हामी क्लास बंक गरेर रमेश उप्रेतीको फिल्म माउते दाई हेर्न गएका थियौ । अभिनय गर्न पाउँदा आफुलाई एकदमै आनन्द लाग्ने गरेको सुरजको भनाई छ । कहिले काँही अभिनय गर्दा गर्दै यति भावमा डुब्ने गर्छन् कि त्यो चरित्र बाट निस्कन समय लाग्ने गरेको सुरजले बताए ।
त्यस्तै उनले नेपाली सर्ट फिल्म अवार्ड २०७७ को बेस्ट डेब्यु एक्टरको अवार्ड समेत पाएका छन् । उनले यो अवार्ड हाम्रो नाता सर्ट मुभी बाट पाएका हुन् । उनलाई मन पर्ने नायिका भने स्वस्तीमा खड्का हुन् । अवसर आए तपाईको अपोजिट रोलमा को संग खेल्ने चाहानु हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्– म नायिका स्वस्तीमा खड्का संग अभिनय गर्न चाहान्छु ।
उहाँ मलाई एकदमै राम्री र मिजासीलो स्वभावको लाग्छ । सुरुका दिनमा यो क्षेत्रमा संघर्ष गर्नु परे पनि अहिले आफुलाई अफरहरु आइरहेको सुरजले बताए । उनले आफुमा केही कमजोरी रहे त्यसलाई औल्याईदिन समेत दर्शकहरु संग आग्रह गरेका छन् ।