वाग्मती सफाइ महाअभियानको ४२० औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्र सफाइ — OSNepal

वाग्मती सफाइ महाअभियानको ४२० औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्र सफाइ

LC (KTM) May 29, 2021 0

काठमाडौँ, १५ जेठ – नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ ।वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले सफाइ गर्नुभएको छ । निषेधाज्ञा र कोरोनाबाट निधन भएकाको शवदाह जारी रहेकाले पशुपतिक्षेत्रको आर्यघाटमा धेरै फोहर देखिएको छ ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । दुवै स्थानमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ । यसैगरी उपत्यकाका अन्य स्थानमा पनि नदी किनार नजीक निवास भएका अभियानकर्मीले स्थलगत रुपमै र अन्य घरअघिको टोल क्षेत्रमा सफाइ गरेको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर परिसरबाट शुरु गरिएको थियो । महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी, चक्रपथ गरी २० स्थानमा सफाइ भइरहेको छ । यसैगरी उपत्यकाबाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ अभियान शुरु भएको छ । उपत्यका बाहिर करीब १०७ स्थानमा सफाइ भइरहेको छ ।

सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ । चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि महाअभियान जारी छ । महाअभियानले कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने उद्देश्यले प्रत्येक दिन बिहान साढे ६ः०० बजेदेखि साढे ७ः०० बजेसम्म प्राणायाम, योगजस्ता अभ्याससमेत गराइरहेको छ । यसैगरी प्रत्येक हप्ता विज्ञ चिकित्सक एवं कोरोना भई सफलतापूर्वक उपचार सम्पन्न गरी जितेकासँग अन्तरक्रिया गरी जागरण फैल्याइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर