प्रवासबाट स्वर्गीय केसीको परिवारलाई आर्थिक सहयोग — OSNepal

प्रवासबाट स्वर्गीय केसीको परिवारलाई आर्थिक सहयोग

LC (KTM) December 14, 2021 0

थम्मन थापा /बागलुङ – पछिल्लो समय गलकोटबाट विदेशमा रहेका युवाहरुको संख्या उल्लेख्य छ । रोजगारीको सिलसिलामा जापान, अमेरिका, युरोप, अष्ट्रेलिया सँगै अन्य खाडी मुलुकमा उनीहरुले परिश्रम गरेर आर्थिक सम्वृद्विमा जोडिएका छन ।

उनीहरुले आफनो जन्मथलोमा दुखमा सुखमा आर्थिक सहयोग गर्दै आईरहेका छन ।गाउँमा हुने विभिन्न कार्यक्रम, मेला, महोत्सव देखि मर्दा पर्दा विदेशबाट आफनो कमाईको केहि हिस्सा सामाजिक क्षेत्रमा सहयोग गरेर उदाहरणिय कार्य गर्दै आएका छन ।

जापानमा कर्मथलो बनाएका गलकोट नगरपालिका ७ मल्म सिरबारेका युवा समाजसेवी प्रकाश केसीले आगाँखेतकी वसुन्धरा केसी विरामी परेको खबर पाए । जापानमा रहेका उनले आर्थिक अवस्था कमजोर भएको केसी परिवारलाई उपचारमा सहयोग होस भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत आर्थिक सहयोग संकलन अभियान गरे ।

जापानमा रहेका मल्मबासी सँगै गलकोटे नागरिकले आफुसक्दो आर्थिक सहयोग गरे । बसुन्धरा केसीको लिभर र किडनी र टाउकोमा जटिल समस्या भएपछि उनका छोरा लछु केसीले उपचारको लागि आमालाई मंसिर ११ गते पोखरा स्थित फेवा सिटी हस्पिटल पुर्याएका थिए ।

हस्पिटलले आमाको स्वास्थ्य अवस्था जटिल रहेको र थप उपचारको लागि भन्दै मणिपाल अस्पताल रिफर गरेको थियो । उनको गत मंसिर १४ गते उपचारको क्रममा निधन भयो । विरामी केसीको जीवन रक्षा गर्न सकिन्छ कि भन्ने उद्येश्यले जापानमा आर्थिक संकलन जारी नै थियो ।

विदेशमा संकलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । पोखरामै उपचारकै सिलसिलामा केसीका छोरा लछु केसीलाई समाजको तर्फबाट नगद रु २५ हजार सहित संस्थाका पदाधिकारीहरुले अस्पतालमा पुगेर ९६ हजार सहयोग गरेका थिए । बाँकी रकम १३ औं दिनको पुण्य तिथीमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडक बहादुर थापाले बताए ।

नगद रु ३ लाख ४५ हजार १ सय ४० गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र गलकोट समाज पोखराका सदस्य हिरा बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले विदेशमा रहेका गलकोटबासी नागरिकले सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गरेका छन । यस्ता परोपकारी कामले गलकोटबासी नागरिकबिच आपत विपतमा एकताको सन्देश दिएको समेत उनले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर