देउवाका चर्चित सारथीहरू जो केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिन बाध्य भए — OSNepal

देउवाका चर्चित सारथीहरू जो केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिन बाध्य भए

LC (KTM) December 12, 2021 0

काठमाडौं, २६ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ । त्यसपछि उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न लाग्नेछन् । हुन शनिबार मनोनयन दर्ता गरेसँगै भोट माग्ने क्रम जारी छ ।

तर, यसपटकको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाका चर्चित सारथीहरू आफूलाई मत माग्न महाधिवेशनस्थलमा देखिएनन् । जसमा ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, डा.नारायण खड्का, एनपी साउद, रमेश लेखक, मिन विश्वकर्मा, शंकर भण्डारी, मोहनबहादुर बस्नेतहरूलगायत छन् ।

कार्की सञ्चारमन्त्री, खाँण गृहमन्त्री र खड्का परराष्ट्रमन्त्री छन् । साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेत केन्द्रीय सदस्य थिए । यी सबै १४औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी थिए । तर, कसैले पनि पदाधिकारीको टिकट पाएनन् । महामन्त्रीमा खाँण र कार्कीको हानथापले डा.प्रकाशशरण महतले बाजी मारे । लेखकले त आफैं गएर केन्द्रीय सदस्यको मनोनयनसमेत दर्ता गराएनन् । महाधिवेशनस्थलमै भएर पनि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गरे । विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी नै फिर्ता लिए । देउवाकाे सूचीमा नअटेका कारण उनले मनाेनयन फिर्ता लिएका हुन् ।

देउवा अहिलेसम्म कांग्रेसमा बलियो हुनुमा कार्की, खाँण, खड्का, साउद, लेखक, विश्वकर्मा, भण्डारी, बस्नेतको धेरै हात छ । बस्नेत विरामी भएकाले चुनावमा त्यति सक्रिय हुन सकेका छैनन् । तर, खड्काले त केन्द्रीय सदस्यमा समेत उम्मेदवारी दर्ता गराएनन् । आखिर किन देउवाले आफ्ना चर्चित सारथीहरूलाई पदाधिकारीमा लगेनन् त ? देउवा निकट एक नेताका अनुसार अहिले संस्थापनमा कृष्णप्रसाद सिटौलाको हालीमुहाली बढेको छ । यसले गर्दा पनि कोही खुलेर महाधिवेशनमा प्रचार प्रसारमा लागेका छैनन् ।

सिटौला प्रभावशाली हुँदै जाँदा कोइराला समूहबाट शैलजा आचार्य, चक्र बाँस्तोला, भीमबहादुर तामाङ, गोविन्दराज जोशीहरू विस्थापित भए । अब सायद रमेश लेखक, एनपी साउदहरू देउवा शिविरबाट बाहिरिन सक्ने अनुमान गर्न थालिएको छ । आफ्ना बलिया सारथीलाई केन्द्रीय सदस्यको उम्मेदवारमै खुम्चिन बाध्य पारेको असर निर्वाचनमा देखिन सक्ने ती नेताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर