कांग्रेसमा नयाँ नेतृत्व : आज उम्मेदवारी दर्ता, साेमबार मतदान — OSNepal

कांग्रेसमा नयाँ नेतृत्व : आज उम्मेदवारी दर्ता, साेमबार मतदान

LC (KTM) December 11, 2021 0

काठमाडौं, २५ मंसिर – सत्तासीन नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आज शनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकाेमा आज मनाेयन दर्ता हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनकाे कार्यतालिका छ । मनाेनयन राष्ट्रिय सभागृहमा हुनेछ ।

मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

कांग्रेसमा सभापति एक, उपसभापति दुुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था विधानमा छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेसकाे नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवाले फेरि दाबी गरेका छन् । उनले शुक्रबारकाे उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भाेट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटाैला पक्षले पनि साथ दिने भएकाे छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् ।

त्यसबाहेक संस्थापन इतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवारकाे खाेजी भइरहेकाे छ । उक्त पक्षबाट वरिष्ठ नेता रामचन्द्र पाैडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक काेइराला र नेता शेखर काेइरालाले दाबी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर