कांग्रेस उपसभापति निधिको वैचारिक प्रतिवेदनमा धर्मको यस्ताे व्याख्या — OSNepal

कांग्रेस उपसभापति निधिको वैचारिक प्रतिवेदनमा धर्मको यस्ताे व्याख्या

LC (KTM) December 11, 2021 0

काठमाडौं, २५ मंसिर – नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले धर्मबारे व्याख्या गरेका छन् ।

१४औँ महाधिवेशनको बन्दसत्रबाट पारित नेपाली कांग्रेसका लागि वैचारिक आधार प्रशिक्षण पुस्तक प्रतिवेदनमा निधिले धर्मलाई समाजवाद र पर्यटनसँग जोडेर व्याख्या गरेका हुन् ।

सिद्धान्तका आधारमा समाजवादको भिन्नता छुट्याउने क्रममा निधिले धर्मको विषयमा उल्लेख गरेका छन् । लोकतान्त्रिक समाजवादमा उनले धार्मिक स्वतन्त्रतालाई प्रश्रय दिने बताएका छन् ।

त्यसैगरी, कम्युनिस्ट अर्थात् साम्यवादी समाजवादमा भने धर्मसंस्कृतिलाई नमान्ने र धर्मलाई अफिम ठान्ने निधिले उल्लेख गरेका छन् । यो भिन्नता पेज नम्बर १९ मा उल्लेख छ ।

लोकतान्त्रिक समाजवाद अंगालेको कांग्रेसले धार्मिक स्वतन्त्रलाई प्राथमिकता दिने निधिको सन्देश छ । अहिले कांग्रेसभित्र धर्म निरपेक्षता होइन धार्मिक स्वतन्त्रताको आवाज उठेको छ । अझ केहीले हिन्दु राष्ट्रकै कुरा उठाएका छन् ।

शुक्रबार महाधिवेशन उद्घाटन सत्रमा महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता शब्द हटाउनुपर्ने धारणा राख्दै धार्मिक स्वतन्त्रता कायम हुनुपर्नेमा जोड दिएका थिए । पछिल्ला दिनमा नेता एनपी साउद पनि धर्म निरपेक्षताविरुद्धमा छन् । सनातन हिन्दु मूल्यमान्यताको रक्षा गर्दै धार्मिक स्वतन्त्र अपनाउनुपर्ने उनको पनि राय रहँदै आएको छ ।

विगतमा प्रखर धर्म निरपेक्षताको वकालत गर्ने निधि महाधिवेशन अगाबै सभापतिको दौडधुपमा सनातन हिन्दु धर्म संस्कृतिको पक्षमा सांकेतिक रुपमा आफूलाई उभ्याउँदै आएका छन् । अहिले आएर निधिले आफ्नो प्रतिवेदनमा समेत धार्मिक स्वतन्त्रतालाई जोड दिएका हुन् ।

यतिमात्रै होइन निधिले आफ्नो प्रतिवेदनमा नेपाललाई हिन्दू र बौद्ध धर्मको प्रमुख अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यको रुपमा पर्यटक आकर्षित गर्ने पूर्वाधार विकासमा जोड दिएका छन् । यो कुरा पेज नम्बर ५७ मा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर