काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य प्रदीप पौडेलले नेता कृष्णप्रसाद सिटौला सभापति उम्मेदवारको लागि ब्याक नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम सहभागी भएका नेता पौडेलले यस्तो खुलासा गरेका हुन् ।
आफु सिटौलाको प्यानलबाट महामन्त्री पदमा उठ्न लागेको बताएका उनले महाधिवेशनको उद्घाटन सत्रपछि सिटौलाले आफ्नो उम्मेदवारी घोषणा गर्ने जानकारी दिएका छन् ।
‘अहिले हामी छलफलकै क्रममा छौं । छलफल परिणामुखी भइरहेको छैन । जसले हाम्रो अस्तित्वलाई हार्दिक रुपमा स्वीकार गर्छ, ऊसँग समीकरण गर्न सकिन्छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने टुंगो लाग्छ ।’ कार्यक्रममा पौडेलले भने ।
पार्टीको आन्तरिक प्रतिस्पर्धा हार्दिक, सौहार्द र मर्यादित हुनुपर्ने बताएका उनले यसलाई आन्तरिक जीवन ठानेर हातेमालो गरेर अघि बढ्ने बताएका छन् । साथै उनले कांग्रेसको १४ महाधिवशेनको उद्घाटन सत्रमा वरिष्ठ नेता रामचन्द्र पौडले सहभागी नहुने विषयमा गम्भिर भएको भन्दै पौडेललाई सहभागी हुन समेत उनले अनुरोध गरेका छन् ।
उनले भने , ‘उहाँ पार्टीको वरिष्ठ नेता हो । उहाँको अनुपस्थिति गम्भीर विषय हो । त्यसले नमीठो महसुस गराउँछ । नेतृत्व लिने सवालमा उहाँको प्रयत्न स्वाभाविक हो । त्यसमा ठेस पुग्दैमा महाधिवेशनमा नआउनु स्वभाविक हुन सक्दैन । त्यसैले म पौडेललाई सहभागी हुन अनुरोध गर्दछु ।’