नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई भनिसकेका छौ - परराष्ट्रमन्त्री ज्ञवाली — OSNepal

नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई भनिसकेका छौ – परराष्ट्रमन्त्री ज्ञवाली

LC (KTM) May 28, 2021 0

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतबाट ‘कोभिशिल्ड’ ल्याउनका लागि नेपालले उच्च तहमा छलफल गरिरहेको बताए । “केही दिन अघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपतिलाई हामीले पैसा भुक्तान गरिसकेको १० लाख खोपको मात्रा र थप सात लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गर्नका लागि आग्रह गरेका छन् ”, उनले भने, “खोप उपलब्ध गराउन भारतलाई प्रधानमन्त्री र मेरो तहबाट पनि आग्रह गरेका छौँ । नेपालका लागि भारतका राजदूत र भारतस्थित नेपालका राजदूतसँग पनि कुराकानी भइरहेको छ । हामीले औपचारिक÷अनौपचारिक रूपमा भारतसँग कुरा गरिरहेका छौँ ।”

मन्त्री ज्ञवालीले नेपालमा खोप आयात गर्नका लागि भारतीय अदालतले पनि मानवीय संवेदनशीलतालाई बुझेर आफूले गरेको आदेशमा पुनः विचार गर्ने विश्वास व्यक्त गरेका छन् । भारतको अदालतले भारतका जनतालाई लगाइसकेपछि मात्र बाहिरी मुलुकमा खोप निर्यात गर्न आदेश दिएको छ ।

उनले भारतबाट खोप नआएका खण्डमा कोभिशिल्डसँग मिल्दोजुल्दो खोप खरिद गर्न पनि सरकार तयारी अवस्थामा रहेको जानकारी दिए । एस्ट्राजेनिका उत्पादन हुने मुलुकसँग खोप ल्याउने पहल भइरहेको उनको भनाइ थियो । परराष्ट्रमन्त्री ज्ञवालीले बेलायती विदेशमन्त्रीसँग केही दिन अघिमात्र नेपालमा खोपको अभावलाई गम्भीरतापूर्वक लिन ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले अमेरिकाले खरिदका लागि सम्झौता गरेको ९बुक० एस्ट्राजेनिका नेपालमा ल्याउनेबारे अमेरिकी विदेश उपमन्त्री छलफल भइरहेको बताए । “अहिले अमेरिकासँग छ करोड मात्रा एस्ट्राजेनिका खोप बुक र मौज्दात रहेको छ । अमेरिकाले अरु खोप लगाइरहेकाले एस्ट्राजेनिका लगाएको छैन”, उनले भने, “त्यहाँ प्रयोग नहुने तर हामी त्यसै खोप नपाएर छटपटिने अवस्था अन्त्य गर्नका लागि नेपालमा खोप अभाव एकदमै छ भनेर हामीले अमेरिकालाई एस्ट्राजेनिका उपलब्ध गराइदिनुहोस् भनेका छौँ ।” यद्यपि उनले नेपाललाई एस्ट्राजेनिका खोप उपलब्ध गराउनका लागि अमेरिकाको प्रक्रिया लामो हुने भएकोले केही समय लाग्ने बताए ।

उनले खोपको असमान वितरण भएकाले नेपालले समयमा खोप खरिद गर्न नपाएको बताए । “९५ प्रतिशत खोप १५ देशमा सीमित छ । बाँकी १६० देशले पाँच प्रतिशत खोप आफ्ना नागरिकलाई लगाइरहेका छन”, उनले भने, “हामीजस्ता विकासशील देशलाई खोपको समस्या परेको छ । त्यसैले खोपको नीतिमा परिवर्तन गरेर समान वितरण गर्नु जरुरी छ ।”

उनले खोपको न्यायोचित वितरण गर्नका लागि संयुक्त राष्ट्र सङ्घ र विश्व स्वास्थ्य सङ्गठनमा पहल गरिरहेको जानकारी दिए । खोपको न्यायोचित वितरण नहुँदा खरिद गर्न समस्या परेको उहाँको भनाइ थियो । उनले अमेरिकासँगै एस्ट्राजेनिका खोप ल्याउनका लागि अन्य देशसँग पनि छलफल गरिरहेको बताए । “एस्ट्राजेनिका खोप मौज्दात रहेका देशलाई समेत हामीले पत्राचार गरिसकेका छौँ”, उनले भने, “एस्ट्राजेनिका खोप उपलब्ध गराउन हामीले सबै कूटनीतिक प्रयास गरिरहेका छौँ ।”

मन्त्री ज्ञवालीले खोप खरिदका लागि सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका समस्यालाई हटाएको भन्दै अब सरकार–सरकार र सरकारले सिधै कम्पनीसँग छिटो प्रक्रियाबाट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर