अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने : सचिव भट्टराई — OSNepal

अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने : सचिव भट्टराई

LC (KTM) December 06, 2021 0

भरतपुर, २० मङ्सिर-नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताउनुभएको छ । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमालेले महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने उल्लेख गर्दै ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र सङ्घ तथा प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताउनुभयो ।

एमालेको महाधिवेशनको उद्घाटनसत्रमा सात लाख बढी जनता सहभागी भएको जिकिर गर्दै उहाँले भन्नुभयो, “हामीले रकेर्ड बनाइसक्यौँ, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रदर्शन नगर्ने निर्णय गरेका छन् ।” उहाँले गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको आरोप लगाउनुभयो । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उहाँको भनाइ छ । भट्टराईले सार्वजनिक खरिद ऐन संशोधनप्रति आपत्ति जनाउनुभयो ।

उहाँले कम्युनिस्ट पार्टी स्थापना भएदेखिको कम्युनिस्टको लिगेसी एमालेसँग रहेको बताउनुभयो । “जुन साख एमालेले जोगाएको छ र जनताको भरोसा एमालेमा मात्र छ, नेकपा विघटन भएपछि एमाले नै नेकपाको लिगेसी कायम राखेको छ”, उहाँले भन्नुभयो । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिष्पर्धा हुने उहाँले बताउनुभयो ।सो क्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको १०औँ महाधिवेशनबाट देश नै खुसी बनेको बताउनुभयो । उहाँले चितवनमा सम्पन्न एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सानदाररुपमा सफल भएको जिकिर गर्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर