काठमाडौं, १५ मंसिर । राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् ।
चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपस्थित भएर राप्रपा अध्यक्ष थापाले बधाई मात्र दिएनन्, ओलीलाई राष्ट्रवादी नेताको उपमा पनि दिए ।
तर एमाले महाधिवेशन सकिएको एक दिनपछि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा भने ओली देखिएनन् । उनले शुभकामनाका लागि पार्टीबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाए ।
ओली अनुपस्थित भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल भने शुभकामना दिन राप्रपा महाधिवेशन उद्घाटनस्थल पुगेका छन् ।
प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना दिन पुगेका थिएनन् भने नेपाललाई एमालेले निम्तो नै गरेको थिएन ।
एमाले महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेता पनि राप्रपा महाधिवेशनमा शुभकामना दिन उपस्थित भएनन् ।