कांग्रेस बागलुङ सभापतिमा युवा नेता जीतबहादुर शेरचन बिजयी — OSNepal

कांग्रेस बागलुङ सभापतिमा युवा नेता जीतबहादुर शेरचन बिजयी

LC (KTM) December 01, 2021 0

बागलुङ, १५ मंसिर । नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका उम्मेदवार शेरचनले आठ सय ७३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचिन भएका हुन् ।

उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले ७६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच मतदान हुँदा कसैले पनि विधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत बढी मत नल्याएपछि पुनः मतदान भएको थियो ।

कांग्रेस विधान २०१७ ९संशोधनसहित० अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने उल्लेख छ ।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार सभापति हुने व्यवस्थाअनुसार शेरचन दोस्रो चरणको निर्वाचनबाट सभापति बनेका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार द्रोण कुँवरले दोस्रो चरणको निर्वाचनमा शेरचनलाई सघाएका थिए ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले सात सय ८७ र पौडेलले सात सय ४७ मत प्राप्त गरे । जिल्ला सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन प्यानलबाट गण्डकी थापा अधिकारी निर्वाचन भएका छन् । सहसचिवमा फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर