गयो ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प — OSNepal

गयो ७.५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

LC (KTM) November 28, 2021 0

लिमा, १२ मङ्सिर-स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो । पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो ।यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ शहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजनआदिवासीहरू बसोबास गर्छन् ।

यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो । लुसिया नाम गरेका एक प्रत्यक्षदर्शीले उत्तरी शहर चोटाको आरपीपी रेडियोसँग भने, “भूकम्प शक्तिशाली थियो । भूकम्पपछि सबै नागरिक सडकमा निस्केका छौँ । थप पराकम्पनको चिन्ताले हामी साह्रै डराएका छौं।”पेरूको नागरिक रक्षामामिला हेर्ने ‘नेशनल इन्स्टिच्युट अफ सिभिल डिफेन्स’ले अहिलेसम्म कुनै क्षति भएको जानकारी आइनसकेको आफ्नो पहिलोे रिपोर्टमा उल्लेख गरेको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणले केही सम्भाव्य घाइते तथा क्षति हुने पूर्वानुमान् गरेपनि ठूलो क्षति भने नभएको जनाएको छ । भूकम्पको केन्द्रविन्दू रहेको स्थानबाट करिबएक हजार किलोमिटरभन्दा बढी दक्षिणमा पर्ने लिमामा यो कम्पन कम तीव्रताका साथ महसुस गरिएको थियो । यद्यपि लिमामा पनि केही मानिसहरू सडकमा निस्किएका थिए । १० लाख जनसंख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महशुस गरिएको थियो । पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकि यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन । (रासस÷एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर