काठमाडौँ, ११ मङ्सिर -नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विचार, सिद्धान्त र व्यवहारमा क्रान्तिकारी बनाउने दृढता व्यक्त गर्नुभएको छ । पछिल्ला दिनमा माओवादीप्रति जनताको आकर्षण थप बढेको उल्लेख गर्दै उहाँले विगतमा रहेको अलमलसमेत सकिएको र आगामी दिनमा नयाँ आधारमा जनतामा स्थापित भएरै छाड्ने विश्वास व्यक्त गर्नुभयो ।देशभरका पालिका सम्मेलनलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई आफ्नै खुट्टामा उभिने क्रान्तिकारी पार्टी बनाउने क्रम शुरु भइसकेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले हालसम्म केन्द्रीय कार्यालयमा झण्डै आठ लाख सक्रिय पार्टी सदस्यको नामावली प्राप्त भइरहेको र प्रक्रियामा रहेका झण्डै दुई लाख गरी १० लाख बराबरको सक्रिय सदस्य पुग्ने अवस्था देखिएको जानकारी दिनुभयो ।
माओवादी पार्टी पुनः मुलुकको पहिलो पार्टी बन्ने उल्लेख गर्दै उहाँले विचार, राजनीति र सङ्गठनमा रहेको अलमलसमेत अब सकिएको स्पष्ट पार्नुभयो । सङ्गठनात्मक अभियानलाई क्रियाशिलताका साथ अगाडि बढाएपछि तराई मधेशदेखि हिमाली जिल्लामा समेत पार्टीप्रतिको आकर्षणमा थप वृद्धि भएको उहाँको भनाइ छ । डोल्पा, भोजपुर, रौतटह र सर्लाहीलगायत जिल्लामा भएका जनसभालगायतबाट पनि पार्टीप्रति जनताको विश्वासमा वृद्धि भएको आफूले पाएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो ।
पार्टीमा महिलाको सहभागिता बढाएर ३५ प्रतिशत पु¥याइएको, युवाको प्रतिनिधित्व २० प्रतिशत रहने गरी सुनिश्चिता गरिएको तथा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई विशेष प्राथमिकतामा राखिएका कारण जनताले माओवादी नै भरोसायोग्य पार्टी भएको विश्वास गरेको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले पार्टीलाई नयाँ शिराबाट उठाउने विश्वास दिलाएका कारण माओवादीमा बुद्धिजीवी, युवा, मजदुर, किसान र विभिन्न पार्टीका नेता तथा कार्यकर्ताको आकर्षण बढेको दावी गर्नुभयो । विचार र राजनीतिक कार्यदिशाको अभावमा आयोजना गरिने सम्मेलन र महाधिवेशन कुम्भ मेला जस्तो देखिने तर्क गर्दै उहाँले भन्नुभयो, “जहाँ विचार र छलफलका लागि ठाउँ छैन । तर, जनतालाई भ्रम दिने कोशिस भइरहेको छ । त्यस्ता सम्मेलनको कुनै अर्थ हुँदैन ।”
संविधान,सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्रका साथ प्रतिनिसिभाको विघटन गरिएको र परिवर्तनका सबै एजेण्डलाई ध्वस्त पार्न खोजिएका कारण जनताले बाध्य भएर त्यसको प्रतिवाद गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रतिगमनप्रति गरिएको प्रतिवादका कारण आजको अवस्थामा हामी छौँ, यो हामी सबैका लागि खुशी र गर्वको कुरा हो ।”
समाजवादी क्रान्ति गर्न लायक पार्टी बनाउने सङ्कल्प गरेको जानकारी दिँदै उहाँले समाजवादी क्रान्तिको मोडेल, आर्थिक, राजनीतिक र सांस्कृतिक नीति निर्माण गर्ने नीति र योजनाको सङ्कल्प गरिएको बताउनुभयो । पछिल्लो पटक प्रतिगमन विरोधी वर्गसङ्घर्षमा प्राप्त गरेको सफलताका आधारमा र विचार निर्माणका लागि लिइएको दिशा निर्देशन र प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि सोही अनुसारको नेतृत्व आवश्यक रहेकाले सोही दिशामा केन्द्रीत हुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीको समग्र विचार निर्माणमा कम ध्यान गएको र कमजोरी भएको स्वीकार गर्दै उहाँले तत्कालीन दैनिक काम कारवाही र जोड घटाउनमा लाग्दा विचार निर्माणको विषय छुटेकाले अब त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
माओवादी कमजोर भए परिवर्तनका एजेण्डा र राष्ट्रियतासमेत कमजोर हुने भएकाले पार्टीलाई बलियो र जनमुखी बनाउन सबैको उत्तिकै प्रयत्न जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभयो, “हामीलाई निश्क्रिय हुने छुट छैन । हामीले जुन लाइन लिएको हो, त्यसलाई दृढताका साथ अगाडि बढाउन जरुरी छ । राष्ट्रका निम्ति पनि आवश्यक छ ।” परिवर्तन उल्ट्याउने षड्यन्त्रलाई परास्त गर्न आक्रामक रुपमा क्रियाशिल हुनसमेत आग्रह गर्नुभयो ।
पार्टी सदस्य सङ्ख्या १० लाख पुगेकाले प्रत्येक पार्टी सदस्यले चार जना मतदाता तयार पारे ४० लाख मत पार्टीको पक्षमा आउने भन्दै सोही लक्ष्यका साथ क्रियाशिल हुनसमेत ध्यानाकर्षण गराउनुभयो । सरकारका नीति तथा कार्यक्रम, पार्टीको नीति तथा कार्यक्रम र जनताको आवश्यकताको आधारमा समाजवादी कार्यदिशा तय गर्नुपर्ने उहाँको जोड दिनुभयो । समाजवादी उत्पादन अभियान चलाउने तयारी भइरहेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनबाट त्यसको सश्लेषण गरिने विश्वास दिलाउनुभयो ।(रासस) :