टीकापुर, १३ जेठ- कैलालीको टीकापुर नगरपालिकाले कोरोना सङ्क्रमणबाट ज्या न गुमाएका मृतकका परिवारलाई रु १० हजार क्रियाखर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले कोरोना महामारीले आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन क्रियाखर्च उपलब्ध गराउने निर्णय गरेको हो ।
टीकापुरमा कोरोना महामारीको दोस्रो भेरियन्टपछि २९ जनाको मृत्यु भएको छ । महामारीकै कारण मृत्यु भएका परिवारको मनोबल बढाउनुका साथै ‘तपाईंको दुःखमा स्थानीय सरकारसँगै छ’ भन्ने आभाष दिलाउन क्रियाखर्च दिने निर्णय भएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले बताउनुभयो । “अधिकांश मृतकका परिवार पनि सङ्क्रमित छन्, परिवारका सदस्य गुमाएका उनीहरुलाई एकतिर परिवार नै सङ्क्रमित, अर्कोतर्फ सामाजिक समस्या पनि छन्”, नगर प्रमुख रावलले भन्नुभयो, “यस्तो बेला सरकारको उपस्थिति जनाउन हामीले थोरै रकम भए पनि सहयोग गरौँ, उहाँहरुको घरदैलोमा पुगौँ भनी यो कार्य थाल्ने भएका हौँ ।”
मृतकका परिवारलाई राहत लिएर जनप्रतिनिधि र स्वास्थ्यकर्मी जाने भएका छन् । नगरपालिकाले सङ्क्रमणका कारण मृत्यु भएका, मृत्युपछि सङ्क्रमित भएका परिवारमा अन्य खाले स्वास्थ्य समस्या र मनोसामाजिक समस्या नहोस् भनी स्वास्थ्य परामर्शसमेत दिन थालेको छ । “हामीले सामान्य समस्या भएकालाई परामर्श दिन्छौँ, जटिल समस्या भएकालाई चिकित्सकको सहयोग लिएर पनि उहाँहरुको स्वास्थ्य समस्या थप नबिग्रियोस् भनी काम गर्न थालेका छौँ”, नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले भन्नुभयो, “यस्तो विपत्तिमा सबैभन्दा पहिले नागरिकको आत्मविश्वास बढाउने सहयोगी छन्, सरकार छ भन्ने आभाष दिलाउने कार्य भइरहेको छ ।”
नगरपालिकाले सङ्क्रमित परिवारलाई अन्य स्वास्थ्य समस्या नहोस् भनी घरदैलो कार्यक्रमसमेत थालेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी स्वास्थ्य सामग्री र औषधिसहित सङ्क्रमितका घरमा पुग्ने गरेका छन् । नगरपालिकामा रहेका कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउन स्वास्थकर्मीहरु घरमै पुग्न थालेका हुन् । सङ्क्रमित परिवारलाई घरमै गएर परामर्श दिने, सङ्क्रमितसँग सम्पर्कमा रहेकाहरुलाई परीक्षणमा ल्याउने काम स्वास्थ्यकर्मीले गर्न थालेका हुन् ।
नगरपालिकाले सङ्क्रमितसँग विगत १४ दिनको दैनिकी सोधपुछ गर्ने गरेको छ । स्वास्थ्यकर्मीका साथमा जनप्रतिनिधिसमेत जान थालेका छन् । “मास्क, सेनिटाइजर, ज्वरो नाप्ने थर्मोमिटर, फ्लोर क्लिनर, पानी शुद्धीकरण गर्ने पियुस, साबुन, ज्वरोको औषधि दिने गरेका छौँ”, जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक रावलले भन्नुभयो, “ सिआइसीटी नाम दिइएको यो कार्यक्रमअन्तर्गत सङ्क्रमित परिवारको हालको अवस्था र परिवारको अवस्थाबारे बुझ्ने काम हुन्छ ।”
संयोजक रावलकाअनुसार सङ्क्रमित र उनीहरुका परिवारको स्वास्थ्य अवस्था बुझ्न विभिन्न मापदण्ड रहेको फारम भर्ने कामसमेत भइरहेको छ । यसका लागि नगरपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन गरेको हो । रावलले समुदायमा सङ्क्रमण फैलिएको भए पनि दूरी कायम गरेर स्वास्थ्यकर्मीलाई सेवामा खटाएको बताउनुभयो । “हामीले स्वास्थ्य सेवा सबै सञ्चालन गरेका छौँ, गाउँघर क्लिनिक, खोप क्लिनिक, परिवार नियोजन सेवा, आमा सुरक्षाका सबै कार्यक्रम सञ्चालन गरेका छौँ”, उहाँले भन्नुभयो ।
हाल टीकापुरमा १४५ सक्रिय सङ्क्रमित छन् । उनीहरु सबैको घरमा स्वास्थ्यकर्मी पुग्ने भएका छन् । यसका साथै नगरपालिकाले कोरोना पोजिटिभ देखिएकालाई टेलिफोन गरी सुरक्षित रहनसमेत आग्रह गर्ने गरेको छ । नगरपालिकामा दोस्रो भेरियन्टपछि हालसम्म २८८ सङ्क्रमित भएका छन् । तीमध्ये ११४ जना निको भएका छन् भने दोस्रो भेरियन्टकै कारण २९ जनाको ज्यान गएको छ । (रासस)