भारतमा डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइने दावी — OSNepal

भारतमा डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइने दावी

LC (KTM) May 27, 2021 0

नयाँदिल्ली जेठ – भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दावी गरिएको छ । भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दावी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।”

वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने “हब”समेतको संज्ञा दिनुभएको छ । भारतको जनसङ्ख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उहाँको भनाइ थियो ।सामान्यतया हरेक व्यक्तिले छ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उहाँले जानकारी दिनुभयो ।

झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा त्रेहानले विश्वास व्यक्त गर्नुभएको छ ।स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्काअनुसार देशभरी अहिलेसम्म २२ करोड १७ लाख नमूना परीक्षण गरिएको छ ।कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दरमा कमी आएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने व्यक्तिको सङ्ख्या बढी छ । दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा चार हजार १५७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

भारतमा हाल कोरोनाभाइरसका २४ लाख ९५ हजार व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोरोनाबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय सङ्क्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ९५५ जना सङ्क्रमणमुक्त भएसँगै भारतमा हालसम्म कूल दुई करोड ४३ लाख ५० हजार व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोरोनाबाट हालसम्म सङ्क्रमित हुनेको कूल संख्या दुई करोड ७१ लाख ५७ हजार रहेको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर