नेपालकै अग्लो झरना मानिएको पचालझरनामा पदमार्ग बन्दै, तीन करोड बढी लागत लाग्ने — OSNepal

नेपालकै अग्लो झरना मानिएको पचालझरनामा पदमार्ग बन्दै, तीन करोड बढी लागत लाग्ने

LC (KTM) November 13, 2021 0

मान्म, २७ कात्तिक – कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–३ खार्दुमा रहेको पचालझरना जानका लागि रु तीन करोड ३१ लाखको लागतमा पदमार्ग बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा सो पदमार्ग बन्न लागेको हो ।

नेपालकै ३८१ मिटर अग्लो उक्त झरनासम्म जानका लागि पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिनुभयो । “यही कात्तिक ३० गते पदमार्ग शिलान्यास गरिने कार्यक्रम रहेको छ,” उहाँले भन्नुभयो, “पदमार्ग निर्माण भए पर्यटकलाई झरनाको अवलोकन गर्न सजिलो हुनेछ ।”मन्त्रालयले नयाँ १०० पर्यटकीय गन्तव्यमा पचालझरनालाई पनि सूचीकृत गरेको छ । यस झरनाको लम्बाइ ३८१ मिटर भएको बताइए पनि प्राविधिक जाँच भने गरिएको छैन ।

विसं २०७४ मा उक्त गाउँपालिकाले दुई दिन लगाएर पचालझरनाको उचाइ मापन गर्दा ३८१ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले बताउनुभयोे । “पचालझरनाको अध्ययन गर्न स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्उ सङ्घसंस्थाको संग्लनता हामीले गत वर्ष उचाइ मापन गरेका हौँ,” उहाँले भन्नुभयो, “जिपिएस र अन्य विधिबाट उचाइ मापन गरेका थियौँ ।”

यो झरना नेपालकै सबैभन्दा अग्लो भएको गाउँपालिका अध्यक्ष सेजुवालले बताउनुभयो । पचालझरनाको वास्तविक उचाइ ३८१ मिटर रहेको र यसभन्दा अघि नेपालकै अग्लो झरना मानिएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र रहेको उहाँको जिकिर थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर