माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छः अध्यक्ष दाहाल — OSNepal

माओवादी घटकसँग पार्टी एकताको छलफल चलिरहेको छः अध्यक्ष दाहाल

LC (KTM) November 12, 2021 0

काठमाडौँ, २६ कात्तिक -नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताउनुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले भन्नुभयो, “कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन ।” उहाँले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औँल्याउनुभयो ।

अध्यक्ष दाहालले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किरण (मोहन वैद्य)को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।”ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको थियो । उहाँले अगाडि थप्नुभयो, “छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन ।”

अध्यक्षले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताउनुभयो । “प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ”, उहाँले भन्नुभयो ।जनता, आन्दोलन, सङ्घर्ष, बलिदानले नेतृत्व पैदा गर्ने भन्दै उहाँले सही विचार र कार्यक्रम लिएर जनतामा जाँदा माओवादी पुनः एक पटक थप विस्तारित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चन्द समूहका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहाललगायतका नेताले पार्टी प्रवेश गराउनुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर