एक सांगीतिक कार्यक्रमका क्रममा भएको घटनाको भिडियो पोस्ट गरेका कारण हलिउड स्टार काइली जेनर आलोचनाको शिकार भएकी छन्।चर्चित अमेरिकी र्यापर ट्रयाविस स्कटको सांगीतिक कार्यक्रम एस्ट्रोवल्र्ड भेस्टिवलमा भागदौड मच्चिँदा खिचेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरेपछि आलोचकहरु उनीमाथि खनिएका हुन्।
छोरीका साथ कन्सर्ट हेर्न गएकी काइलीले खिचेको भिडियोमा उक्त घटनामा घाइते भएका मानिसलाई राखिएको एम्बुलेन्सले भागदौडका कारण बाटो नपाएको देखिएको छ। नेपाल समचारपत्रमा खबर छ । यस्तो दुःखद घटनामा कसैको परवाह नगरी भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको, तर स्टार भएको नाताले कसैको मद्दतमा नउत्रिएको भन्दै उनको आलोचना भइरहेको छ। सीएनएनमा प्रकाशित समाचार अनुसार अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा आयोजित कार्यक्रममा भएको घटनामा एक १० वर्षीय बालकसहित आठ जनाको मृत्यु भएको थियो। घटनापछि उक्त कार्यक्रम स्थगित गरिएको छ।
कार्यक्रमका दौरान केही मानिस भीआईपी जोनमा प्रवेश गर्न खोजेपछि उक्त घटना भएको थियो। घटनापछि घाइते भएका १७ जनालाई अस्पताल लगिएको थियो। जसमध्ये ११ जनालाई हृदयघात भएको समाचारमा उल्लेख छ। घाइतेमध्ये करिव ३ सय मानिसको उपचार उक्त कार्यक्रम स्थगलमा नै गरिएको थियो। घटनामा गम्भीर घाइते भएका २३ वर्षीय क्रिस्टियन पेरेडेसले मानिसलाई उकासेको भन्दै र्यापर ट्रयाविस र ड्रेकविरुद्ध मुद्दा दायर गरेको समाचारमा उल्लेख छ।
स्टेजमा प्रस्तुति दिइरहेका बेलामा मानिसको भीड अगाडि बढिरहेको र भीड नियन्त्रण बाहिर रहेको थाहा हुँदाहुँदै पनि ट्रयाविसले आफ्नो प्रस्तुति जारी राखेर मानिसलाई उकासेको तथा उनको प्रस्तुतिमा साथ दिएको भन्दै ड्रेकविरुद्ध पनि मुद्दा दायर गरिएको छ।