मुम्बई । दुई महिनादेखि कोरोनाको महामारीले जकेडिएको बलिउड नगरी मुम्बईमा दुई साता यताबाट कोरोनाको प्रभाव केही कम भएको छ । कोरोनाको महामारी बढेपछि त्यहाँ अप्रिलको मध्यबाट लकडाउन सुरु गरिएको थियो । अहिले कोरोना संक्रमण निकै घटेपछि त्यहाँको जनजीवन केही खुकुलो भएको छ ।
मुम्बईमा चाँडै लकडाउन हटाएर जीवनशैली सामान्य तुल्याउने तयारी भइरहेको छ । यसै क्रममा आगामी जुन १५ बाट महाराष्ट्र सरकारले धेरै कुरा फुुकुवा गर्ने भएको छ । सोही क्रममा बलिउडको फिल्म छायांकन कार्यलाई पनि फुकुवा गर्ने आशामा सिनेकर्मी छन् ।
ठूला बजेटका आधा दर्जन सिनेमा छायांकन हुँदाहुँदा कोरोनाको महामारीले गर्दा डेढ महिनाअघिबाट रोकिएका छन् । १५ जुनबाट लकडाउन हट्ना साथ आफूहरू छायांकनको तयारीमा जुट्ने सिनेकर्मीको कथन छ । किनकि लकडाउन हटेपछि आफूहरूलाई फिल्म छायांकनका लागि सरकारले अनुमति दिने विश्वास सिनेकर्मीको छ ।राजधानि दैनिकमा खबर छ ।
यतिबेला सलमान खान र कैटरिना कैफको टाइगर–३, अक्षय कुमारको रामसेतुसहित तीन फिल्म को मैदान, प्रवासको आदिपुरुष, शाहरुख खान र दीपिकाको पठान जस्ता थुप्रै फिल्मको छायांकन रोकिएको छ । यीमध्ये गता साताको आँधी बेहेरीले कतिपय फिल्मको सेट ढलेर निर्मातालाई अझ ठूलो घाटा भएको छ ।