आज राति १० बजे नेपाली फुटबल टोली इराक जाँदै — OSNepal

आज राति १० बजे नेपाली फुटबल टोली इराक जाँदै

LC (KTM) May 25, 2021 0

काठमाडौँ, ११ जेठ- नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आज राति इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट राति १० बजे इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ । मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको थियो ।

यसअघि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको थियो । इराक उड्नुअघि नेपाली टोलीको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनीज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहनुभएको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर