समावेशीरुपमा मन्त्री बनाएका छौँ, जनताका पक्षमा काम नगरे कारबाही गर्छौं : अध्यक्ष दाहाल — OSNepal

समावेशीरुपमा मन्त्री बनाएका छौँ, जनताका पक्षमा काम नगरे कारबाही गर्छौं : अध्यक्ष दाहाल

LC (KTM) November 05, 2021 0

भक्तपुर-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि प्रदेशसम्म समावेशीरुपमा मन्त्री बनाएकाले जनताका पक्षमा काम नगरे कारबाही गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर कमिटीले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने उल्लेख गर्नुभयो ।

पार्र्टीको जति ठूलो पदमा रहेको नेता भए पनि जनताका पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गरिने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीलाई जनताका पक्षमा काम गर्न भनेका छौँ, नगरे तुरुन्तै कारबाही गर्छौँ ।” तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको भए पनि सरकारको नेतृत्व गर्नेले त्यसलाई कार्यान्वयनमा नलगेको दाहालले आरोप लगाउनुभयो ।

केन्द्रमा सरकार बनाउँदा समावेशीरुपमा तीन महिला, तीन पुरुष गरी ५० प्रतिशत महिलालाई सहभागी गराएको उहाँले उल्लेख गर्नुभयो । शहीदका छोराछोरी, आदिवासी, जनजाति, दलित र खसआर्यलाई सरकारमा समेटेर समावेशीताको नमूना प्रस्तुत गरेको दाहालको भनाइ थियो । पार्टीमा गुट र प्रतिक्रान्तिकारीसँगको साँठगाँठका कारण पार्टी कमजोर र हेपिएको उहाँले बताउनुभयो । एमालेसँगको एकतापछि नेकपामा केपी शर्मा ओलीका कारण माओवादीको नीति र सिद्धान्तलाई सिध्याउने खेल भएको भन्दै अध्यक्ष दाहालले ओली सरकारबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने काम भएको आरोप लगाउनुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठलगायतले सरकारले जनताका पक्षमा काम गरिरहेको बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर