काठमाडौं १७ कात्तिक । मंसिरमा हुने नेकपा एमालेको १० औं महाधिवेशनमा एमालेले एमालेबाट फुटेर गएको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत सामाजवादी पार्टीलाई नबोलाउने भएको छ ।
। बुधबार प्रचार विभागले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एसलाई पार्टीको १० औं महाधिवेशनमा नबोलाउने बताएका हुन् ।
राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई आफुहरुले नबोलाउने भन्दै भट्टराईले नेपाल नेतृत्वको नेकपा एसलाई अवैध सम्बन्धबाट बनेको पार्टीको संज्ञा दिएका छन् ।
‘हामीले पार्टीको दशौं महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई बोलाउने निर्णय गरेका हौं,’ तर ‘राजनीतिक दलहरुको अवैध सम्बन्धबाट राजनीतिक दलहरुको नाममा बनेका समूहलाई हामीले बोलाउँदैनौ ’ भट्टराईले पत्रकार सम्मेलनमा भने ।
नेकपा एसको पहिचान नभएको र पत्राचार गर्ने ठाउँ पनि नभएको उनले बताएका छन् । लामो समय पार्टी अध्यक्ष केपी ओली विरुद्ध लागेका भट्टराईले नेपाललाई साथ दिएका थिए ।