काठमाडौं, १७ कात्तिक – इटालीयन सिरी ए क्लब युभेन्ट्स युईएफए च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले दुई गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले एक-एक गोल गरे ।
पराजित पिटरस्बर्गको लागि सरदार अज्माउनले एक गोल गर्दा युभेन्ट्स डिफेण्डर लिओनार्दाे बोनुचीले आत्माघाति गोल गरे । घरेलु मैदान टुरिनमा युभेन्ट्सका डिबलाले सुरुवाती अग्रता दिलाए । ११ मिनेटमा डिबलाले गोल गर्दा बोनुचीले २६ मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए ।
५८ मिनेटमा डिबलाले पेनाल्टीमा गोल गर्दा युभेन्ट्सले २–१ को अग्रता बनायो । यसपछि खेलको ७३ मिनेटमा फेडेरिको र ८२ मिनेटमा मोरटाले गोल गर्दै युभेन्ट्सलाई ४–१ को अग्रता दिलाए । ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै पिटरस्बर्गलाई सरदारले ४–२ को अवस्थामा पुर्याएपनि हार टार्न भने सकेनन् ।
जितसँगै युभेन्ट्सले समूह एचमा ३ अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनाएको छ । ४ खेलमा अपराजित रहँदै १२ अंक बनाउको युभेन्ट्स शीर्ष स्थानमा छ । पिटरस्बर्गको भने ४ खेलबाट १ जित सहित ३ अंक रहेको छ ।
समूह ‘एच‘ को खेलमा इंग्लिस क्लब चेल्सी कठिन जित सहित अन्तिम १६ नजिक रहेको छ । स्विडेनमा भएको खेलमा चेल्सीले घरेलु टोली माल्मो एफएफलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे ।चेल्सीको जितमा एक मात्रै निर्णायक गोल हाकीम जियेचले गरे । उनले खेलको ५६ मिनेटमा गोल गरेका थिए ।
बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै साविक विजेता चेल्सी अन्तिम १६ नजिक रहेको छ । समूह ‘एच’ मा ४ खेलमा ३ जित र एक हारसहित चेल्सी ९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित माल्मो भने ४ खेलमा विना कुनै अंक पुछारमा रहेको छ ।