काठमाडौँ, १६ कात्तिक – प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिनुभएको छ । पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उहाँले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिनुभएको हो । विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गर्नुभयो ।
“हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उहाँले भन्नुभयो । वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्र्रिया गर्न गाउँ गाउँ जाने गरेको बताउनुभयो । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उहाँले उल्लेख गर्नुभयो । (रासस)