पोखरा, १६ कात्तिक- पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै क्यानोनिङ गर्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ । कास्कीको माछापुच्छ«्रे गाउँपालिका–९ मा रहेको झरनामा क्यानोनिङ गर्ने बढ्न थालेको सञ्चालक राम गुरुङले जानकारी दिनुभयो । “दसँै–तिहारको बिदामा पोखरा घुम्न आउने साहसिक खेलप्रेमी पर्यटकले क्यानोनिङप्रति राम्रो रुचि देखाउनु भएको छ, अहिले दैनिकजसो १५÷२० जना आउनुहुन्छ”, उहाँले लामो समय कोरोनाका कारण बन्द रहेको क्यानोनिङ सञ्चालनमा आएसँगै खेलको मज्जा लिनेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो ।कोरोनाका कारण एउटै दिनचर्यामा समय व्यतित गरिरहेका अधिकांशले क्यानोनिङ गर्दा आनन्द अनुभव गरेर फर्कने गरेको सञ्चालक गुरुङले सुनाउनुभयो । क्यानोनिङ चट्टानको पहारामा डोरीको सहायताले ‘वेट सुट’ लगाएर पानीको छहरा छाँगाबाट चिप्लिँदै, हाम फाल्दै झर्ने एक प्रकारको साहसिक खेल हो ।
दसँै–तिहारको समयमा क्यानोनिङका लागि आफ्ना साथीहरुसहित कुदी छहरा पुग्नुभएकी पोखराकी दीपा पौडेलले प्राकृतिक छहरामा रमाउन पाउँदा डरभित्र नै आनन्दको महसुस गरेको अनुभव सुनाउनुभयो । “सुरुमा त पानीको छहराको दवाब, अनि चट्टानमा खुट्टा चिप्लिँदा डर पनि लाग्यो, बिस्तारै गाइडहरुले भने जस्तै डोरीको सहायताले झर्दै जाँदा भने निकै आनन्द अनुभूति भयो ।” उहाँले क्यानोनिङपश्चात् मानसिक र शारीरिक स्फुर्ति पाएको अनुभव सुनाउनुभयो । पौडेलले साहसिक खेल भएकाले आफूभित्रको डरलाई हटाएर आत्मविश्वास जगाउन पनि यस्ता गतिविधि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँसँगै क्यानोनिङ गर्नुभएकी पोखराकी सौन्दयकर्मी रचना अधिकारीले पनि पहिलोपटक क्यानोनिङ गर्दा निकै आनन्द र रमाइलो अनुभव गरेको सुनाउनुभयो ।
“मलाई प्राकृतिक कुरामा रमाउन निकै मन पर्छ, यो ठाउँ पनि निकै शान्त रहेछ । चराचुरुङ्गीको चिरबिर आवाजसँगै कलकल बगेको छहरामा डोरीको सहायताले झुण्डिएर पानीमा भिज्नुको मज्जा नै बेग्लै, मलाई निकै आनन्द लाग्यो ।” अधिकारीले पनि आफूभित्रको डर हटाउन र मानसिक स्फुर्तिका लागि क्यानोनिङ गर्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चालक गुरुङका अनुसार पहिलोपटक क्यानोनिङ गर्न चाहनेहरुका लागि प्रारम्भिक रुपमा डेमो देखाउने, सिकाउने मानसिक रुपमा तयार गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि गाइडहरुले नै सबै परामर्शसहित डेमो देखाउँछन् । आकस्मिक उद्धारका लागि पनि गाइडहरु तैनाथ रहन्छ । एक पटकमा १४ जनाका लागि क्यानोनिङ गर्ने उपकरणहरु उपलब्ध रहेको गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीसँग एकचोटिमा १४ जनालाई पुग्ने आवश्यक सामग्री मात्र छ । क्यानोनिङ गर्दा चिप्लिने, हामफाल्ने, पौडिने र झर्ने जस्ता गतिविधि हुने भएकाले यो जोखिमपूर्ण पनि मानिन्छ ।” उहाँले साहसिक खेलका लागि क्यानोनरलाई हेलमेट, हार्नेस, वेटसुट, डोरी, जुत्ता लगायनका सामग्रीको प्रबन्ध गरिने बताउनुभयो । पछिल्लो समय शनिबार र बिदाको दिन क्यानोनिङ र छहरा हेर्न आउनेको सङ्ख्या पनि निकै बढेको उहाँको भनाइ छ । कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन् । झरनाको सुन्दर दृश्य हेर्ने र टिकटक बनाउनेहरु त्यहाँ पुग्ने गरेका छन् ।
पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो । पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरा रहेको छ । क्यानोनिङका लागि तीन तहका प्याकेज छन्, क्यानोनिङ मात्र, ‘डे ट्रिप’ र ‘ओभर नाइट ट्रिप’ गरेर रु दुई हजार ४०० देखि रु चार हजार ९०० सम्म शुल्क तोकिएको छ । साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन् उनीहरुलाई ‘बिगीनर’ र ‘प्रोफेसनल’ गरेर छुट्याइन्छ र झरनामा रम्ने वातावरण तयार गरिन्छ ।