काठमाडौँ, ११ जेठ – विश्वव्यापीरुपमा फैलिएको कारोनाका कारण गत दुई सातामा विदेशमा थप ४१ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार भारतमा २९, कतारमा आठ, फ्रान्समा एक, माल्दिम्समा एक, बेल्जियममा एक र प्रोर्चुगलमा एक जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको सङ्घअन्तर्गत कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।
सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४२३ जना नेपालीको कोभिड–१९ का कारणले निधन भएको छ । सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म ५४ देशमा एक लाख सात हजार ८६ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने तीमध्ये ९९ हजार २५७ जना कोरोनामुक्त भएका छन् ।
समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना सङ्क्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् । सङ्घले विगत कोरोना भाइरसको महामारी शुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । सङ्घले डा सापकोटाको संयोजकत्वमा डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा रुपक श्री (माल्दिभ्स)लगायत विश्वभर २०० चिकित्सक परिचालन गरेको छ ।
यसैबीच नेपालमा हालसम्म पाँच लाख २० हजार ४६१ जना सङ्क्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात् तीन लाख ९८ हजार ४८३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणका कारण सोमबार साँझसम्म छ हजार ५३१ जनाको निधन भएको छ । (रासस)