काठमाडौं । बहिर्गमित जनमुक्ती सेना नेपालका पूर्व लडाकु र नेकपा (मओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच आकस्मिक भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटवार्तामा जनयुद्धका बाँकी मुद्दा र शान्ति प्रक्रिया सहज र सरल तवरले टुङ्याउने विषयमा छलफल भएको छ ।
बहिर्गमित जनमुक्ति सेनाले बिगत लामो समयदेखि उठाउदै आएको १० बुँदे मागहरु सम्बोधन गराउन र अधुरो शान्ति प्रक्रिया टुङ्ग्याउन सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई गम्भीर ध्यानाकर्षण गराउदै सशक्त रुपमा आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए ।
भने, ‘राज्यसँग पटक–पटक छलफलद्वरा दुई पक्षबीच भएका सहमतिहरु कार्यन्वयन गराउन उहाँ तयार हुनुभएको छ ।’ थापाका अनुसार प्रचण्ड निवास खुमलटारमा नै केपी ओली नेतृत्वको सरकारले गरेको निर्णय अनुुसार तत्कालीन पराष्ट्रमन्त्रीको नेतृत्वमा लोकतान्त्रिक योद्धा अभिलेखीकरण सम्मान समिति गठन गरी लोकतान्त्रिक योद्धाको सम्मान–पत्र समेत २०७८ बैसाख १ गते वितरण गरिएको थियो ।
सोही निर्णयको जगमा टेकेर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि उक्त कामहरुलाई अगाडि बढाउने बारे छलफल भएको उनले बताए । १० वर्षे सशस्त्र द्वन्द्व प्रश्चात अनमिनको प्रमाणीकरणबाट ४००९ जनालाई अयोग्य सेना भनेर शिविरबाट कुनै पनि सेवा सुविधा नदिई घर पठाउने कार्य भएको थियो ।