पार्टीबाट निस्कासन भएको २४ घण्टा नहुँदै माधव -झलनाथले गरे यस्तो घोषणा — OSNepal

पार्टीबाट निस्कासन भएको २४ घण्टा नहुँदै माधव -झलनाथले गरे यस्तो घोषणा

LC (KTM) May 25, 2021 0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिए । ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताए ।

पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरू भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुन रहेका छन् । उनीहरूलाई पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्नि संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सोसमेत नरहने गरी कारबाही गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

यसअघि गत शनिबार बसेको स्थायी कमिटी बैठकले कारबाहीमा परेका ११ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तीन दिनभित्रमा स्पष्टीकरणको जवाफ पेस गर्न भनिएको भए पनि कुनै पनि नेताले जवाफ पेस नगरेकाले कारबाही प्रक्रिया अघि बढाइएको ज्ञवालीले बताए ।

यसैगरी, बैठकले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यसरी स्पष्टीकरण सोधिएकामा नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा छन् । उनीहरूलाई २४ घण्टाभित्रमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

कारबाहीमा परेका तथा स्पष्टीकरण सोधिएका नेताहरू विपक्षी गठनबन्धसँग मिलेर नयाँ सरकार गठन गर्ने अभियनामा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उनीहरूले पुनस्र्थापनाको माग गर्दै विपक्षीसँग साठगाठ गर्दै आइरहेका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै कायम भएको नेकपा एमाले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काइनुपर्ने नेता नेपाल समूहले माग गरिरहेका थिए । यसअघि पनि एमाले नेताहरू नेपाल, रावल पाण्डे र भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको थियो । तर, पछि सो निलम्बन फुकुवा गर्दै पार्टी एकता जोगाउन कार्यदल बनाइएको थियो । तर, एमालेका कारबाहीमा परेका नेताहरूले आफ्नै पार्टी अध्यक्षविरुद्ध विपक्षीसँग साँठगाठ गरेपछि पार्टी फुटको सँघारमा पुग्दै आएको थियो ।राजधानी दैनिकमा यो खबर छ ।

यसैगरी, बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिन र पार्टीको तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ ।

अब नयाँ पार्टी खोल्छौंः नेता खनाल

पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता झलनाथ खनालले अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनको ‘गद्दार’ रहेको टिप्पणी गरे । आफूहरूले पार्टीलाई जोगाएर यहाँसम्म ल्याएको बताउँदै उनले कारबाहीको कुनै अर्थ नरहेको बताए । ‘हामीलाई गरिएको कारबाहीको कुनै अर्थ छैन । हामी नयाँ पार्टी खोल्छौं । प्रतिनिधिसभा विघटन गर्ने ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमको हामी समर्थन गर्न सक्दैनौं,’ खनालले भने ।

यसैगरी, नेता रावलले आफूहरूलाई गरिएको कारबाही हास्यास्पद भएको टिप्पणी गरेका छन् । समाजिक सञ्जाल ट्वीटरमा नेता रावलले राष्ट्रघाती काम गर्ने ओलीले साधारण सदस्यबाट हटाइयो भन्नु फुटवादको निरन्तरता भएको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर