बैतडी, १४ कात्तिक- सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चार जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ४७ हजार ७३१ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । हाल यस प्रदेशमा १९८ सक्रिय सङ्क्रमित रहेका छन् । सोमध्ये ३७ जना सङ्क्रमित संस्थागत आइसोलेशनमा बसिरहेका निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अन्य सबै होम आइसोलेशनमा बसिरहेका छन् । कोरोनाकै कारण यस प्रदेशमा ६०४ जनाको मृत्यु भइसेकेको छ ।
प्रदेशभर सङ्क्रमितका लागि भन्दै एक हजार ७७२ आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन् । यसका साथै प्रदेशका विभिन्न अस्पतालमा ९७७ बेड, भेन्टिलेटर ३५, आइसोलेशन बेड ४२१, एचडियू १३९, आइसियु ६९, कोभडि एचडियु बेड १२६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन् ।
यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ । भारतबाट भित्रिनेको अनिवार्य रुपमा यी नाकामा परीक्षण भइरहेको छ । (रासस)