डडेल्धुरा, ९ कात्तिक- वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन् । गन्यापधुरा, अजयमेरू, नवदुर्गा, भागेश्वर, आलिताल गाउँपालिका सहित अमरगढी र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । अवरुद्ध सडक केही सुचारु पनि भएका ती पालिकाले जनाएका छन् ।
रुवाखोला–रेल, धन्ढुङ्गा– बडाल, जनगलस्पा– कैलपालमाडाँै र कोराल–मोइरेल सडकमा एकै साथ चार डोजर प्रयोग गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिनुभयो ।
अजयमेरू गाउँपालिकाले उग्रतारा–मेलौली, भल्कुडा– चिपुर , ढिमौला–भद्रपुर र बगरकोट–सेरागाँड–देवल सडक सुचारु गर्न काम सुरुआत गरिसकिएको जनाएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन उच्च प्राथमिकता दिएको बताउनुभयो । नवदुर्गा, भागेश्वर र आलितालले गाउँपालिकाले अवरुद्ध सडक सुचारु गरिरहेको जनाएका छन् ।
जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाले पोखरा– तिलाडी , डकले– सल्लघारी , घटाल– चिरकिट्टे सडकलगायत अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन तथा राहत वितरणमा पालिकालाई आग्रह गरिएको बताउनुभयो । (रासस)