भजनी, ७ कात्तिक-यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह निकै बढ्यो । कर्णाली नदीसँग जोडिएका बस्तीमा आएको बाढीले हजारौँ परिवार विस्थापित मात्रै भएनन्, राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजा पनि प्रभावित भयो । वर्षेनी कर्णाली नदीको त्रासमा बसेका पूर्वी कैलालीका नागरिकलाई राष्ट्रिय गौरवको आयोजनाको काम सुरु भएपछि बाढी र डुबानको छुटकारा पाइएला भन्ने ठूलो आशा थियो । त्यो आशालाई गौरवको आयोजनाले पनि पूरा गर्न सकेन । टीकापुर नगरपालिका–२ का जीतराम चौधरीले बाढी र डुबानका मुख्य कारण स्थानीय सरकार भएको बताउनुभयो । उहाँले स्थानीय तहले मापदण्डविपरीत नदीजन्य पदार्थको दोहन गर्न लगाएका कारण बाढी र डुबानको समस्या मात्रै नभई राष्ट्रिय गौरवको आयोजनामा पनि करोडौँको क्षति पुगेको बताउनुभयो ।
“स्थानीय तहले आफ्नो फाइदाका लागि नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का दिन्छन् । त्यो राम्रो पनि हो तर, ठेक्का दिनेले मापदण्ड कार्यान्वयन गरेर काम ग¥र्यो कि गरेन भनेर निगरानी गर्नुपर्छ कि पर्दैन ?”, उहाँले भन्नुभयो, “आज तिनै ठेकेदार र नदीको ढुङ्गा र बालुवामा कमिसन खानेहरुका कारण सर्वसाधारण भोकभोकै मर्ने बेला आएको छ ।”
सोही ठाउँका रणबहादुर विकले वर्षेनी बाढीका कारण शिविरका नागरिकले समस्या झेल्दै आएको बताउँदै त्यसको दीर्घकालीन समाधानका लागि कुनै पनि निकायबाट समन्वय नभएको बताउनुभयो । “हामीलाई कर्णाली नदीभन्दा पनि जमरा कुलोका कारण शिविर डुबानमा पर्ने गरेका छन् । पटकपटक रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गर्दा पनि कुनै समस्याको समाधान हुन सकेको छैन्”, उहाँले भन्नुभयो, “राज्य आफ्नो फाइदाका लागि नदी उत्खननमै व्यस्त छ भने, त्यही राज्यको करोडौँको लगानी बाढीमै बग्ने गरेको छ । नागरिकले त्यसको परिणाम भोग्नुपरेको छ ।”
नदीजन्य पदार्थको उत्खनन गर्दा तटबन्धभन्दा ५०० मिटर आसपाससम्म ध्यान दिनुपर्छ । तर त्यो पद्धतिको कार्यान्वयन नत ठेक्का लिनेले गरेका छन् न त, ठेक्का दिने निकायले नै । कर्णाली नदीको बर्दिया क्षेत्रमा कटान र डुबान कम हुने गरेको छ । त्यहाँको केही भाग राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले उक्त क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गर्न पाइँदैन । अर्को कैलालीको क्षेत्र जस्तो सहजरूपमा उत्खनन हुने ठाउँ पनि सो क्षेत्रमा छैन । त्यसकारण पनि कैलाली क्षेत्रको भाग बढी जोखिममा पर्ने गरेको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदार श्रेष्ठले अनियन्त्रित उत्खनन र नदीको बीच भागमा परेका टापुले बाढी, डुबान र कटानको समस्या बढी हुने गरेको बताउनुभयो ।
कर्णाली नदीको चिसापानी पुलदेखि हुलाकी राजमार्गअन्तर्गतको सत्ती पुलसम्म सयौँ टापु बनेका छन् । केही टापु जङ्गलकारुपमा समेत परिणत भएका छन् भने त्यसका कारण नदीले सहज निकास नपाउँदा त्यसको असर बर्सात्मा पर्ने गरेको राष्ट्रिय गौरवको आयोजनाको बुझाइ छ । “जतातिर नदी तटबन्ध गरिएको छ, त्यहीँबाट उत्खनन हुन्छ । त्यसले तटबन्धको जग कमजोर बनाउँछ भने सामान्य बाढीमा पनि जोखिम हुन्छ”, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “अर्को नदीको बीच भागमा परेका बालुवाका टापुका कारणले पनि बाढी, डुबान र कटानको समस्या बढाएको छ । यसले नदीको पानी सहजरूपमा निकास पाउँदैन र जता कटान गर्न सजिलो भयो त्यतै नदी केन्द्रित हुँदा पनि जोखिम बढेको छ ।” उहाँले अहिलेको बाढीले आयोजनामा धेरै ठूलो क्षति नभएको उल्लेख गर्दै करिब रु एकदेखि डेढ करोडको क्षति भएको बताउनुभयो ।
“आयोजनाको ठूलो क्षति भने पनि मूल नहरमै हो । त्यहाँ बढी क्षति भएको छ । अन्य विभिन्न ठाउँमा सात वटा च्यानल बाढीका कारण फोड्नुपरेको छ”, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “अहिले आयोजनाका कारण स्थानीयवासीको घरबारी डुबानमा प¥र्यो भन्नु पनि गलत हो । बरु काम सम्पन्न हुन नसकेका अवस्थामा आयोजनाले क्षतिलाई कम गर्न नसकेको हो ।”