स्वास्थ्यमा उत्कृष्ट बाँकेको डुडुवा गाउँपालिका — OSNepal

स्वास्थ्यमा उत्कृष्ट बाँकेको डुडुवा गाउँपालिका

LC (KTM) October 25, 2021 0

बाँके- बाँकेको डुडुवा गाउँपालिकाले ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाअन्तर्गत रहेका ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज वडा नंं २ को होलियास्थित खडैचा गाउँका ज्येष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभयो । अध्यक्ष चौधरीले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहारसहित सेवा उपलब्ध गराउन यो कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकको घरदैलोमै स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण, एम्बुलेन्स सेवा तथा विशेषज्ञसहितको स्वास्थ्य सेवा निःशुल्क रुपमा उपलब्ध गराउने कार्यक्रमको उद्देश्य छ । गाउँपालिकाले दलित, अशक्त तथा एकल महिलाको हकमा ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुगेका नागरिकलाई यो सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वार्ड १ देखि ६ सम्म ७० वर्ष पुगेका एक हजार २७२ जना छन् भने ६० वर्षलाई समेट्दा दुई हजार १३५ जना छन् ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाका सबै ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर सेवा कार्ड वितरण गरिएको छ भने ३० लाख बजेट विनियोजन छुट्याइएको अध्यक्ष चौधरीले बताउनुभयो । केही महिनाअघि सो गाउँपालिकाको बेतहनी स्वास्थ्य चौकीमा पाँच बेडको सुविधा सम्पन्न ज्येष्ठ नागरिक उपचार तथा स्याहार केन्द्र पनि स्थापना गरिएको छ । गाउँपालिकामा आठ वटा स्वास्थ्य एकाइ छ भने तीन स्थानमा निःशुल्क प्रयोगशालामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले विगतका वर्षदेखि नै घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपछि अहिले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ । स्वास्थ्य कार्यालय बाँकेले गरेको मूल्याङ्कनका आधारमा अहिले डुडुवा बाँके जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो भई उत्कृष्टताको पुरस्कार प्राप्त गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर