कञ्चनजंघा क्षेत्र अझै सुनसान, पाथीभरा क्षेत्रमा पर्यटकको घुइँचो — OSNepal

कञ्चनजंघा क्षेत्र अझै सुनसान, पाथीभरा क्षेत्रमा पर्यटकको घुइँचो

LC (KTM) September 22, 2021 0

ताप्लेजुङ, ६ असोज-लामो समयसम्म कोरोनाको कारण विश्व पर्यटकको प्रवद्र्धन हुन नसक्दा पर्यटन व्यवसाय चौपट बनेको छ । हजारौं पर्यटन व्यवसायीको रोजगारी खोसिएको छ ।नेपालको पर्यटकीय क्षेत्रमध्ये ताप्लेजुङ पनि एक हो । विगतमा ताप्लेजुङमा अन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा बेसक्याम्प अवलोकन गर्न विदेशी पर्यटक आउने गर्छन् भने पाथीभरा देवीको दर्शन गर्न धार्मिक पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ ।

कञ्चनजंघा र पाथीभरा ताप्लेजुङलाई चिनाउने प्रमुख दुई पर्यटकीय स्थल हो । पाथीभरा क्षेत्रमा अहिले विस्तारै धार्मिक पर्यटकको चहलपहल सुरु भएसँगै पाथीभरा क्षेत्रका लामो समय बन्द भएको होटल खुल्न थालेको छ ।

कञ्चनजंघामा भने लाखौं खर्च गरेर पर्यटकको लागि बनाएको पर्यटकीय आवास गृह अहिलेसम्म खुल्न सकेको छैन । कञ्चनजंघाको आधार शिविर लोनाक, खाबाचेन, घुन्सा, फले ग्याप्ला चैराम जस्ता स्थान समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा पर्ने स्थानमा मुख्य व्यवसाय पर्यटन हो । प्रत्येक घरपरिवारका सदस्य पर्यटनसँग जोडिएको छ । होटल सञ्ञ्चालन गरेर आयआर्जन गर्दै आएको पर्यटन व्यवसायीलाई अहिले समस्या भएको फक्ताङलुङ गाउँपालिका-६ घुन्साका पेमा शेर्पाले बताए ।

कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका-६ ग्याप्लामा सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ ।

समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य ८० लाखदेखि माथिका लगानीमा होटलहरू सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ । कोरोनाका कारण पर्यटक अनाएपछि सबै होटल दुई वर्षदेखि बन्द भएको छ ।

दुई वर्षदेखि कोरोनाको कारणले कञ्चनजंघा हिमालमा जाने पर्यटक शून्य छ । गत वर्ष १२ जना विदेशी पर्यटक मात्र आएरको कञ्चनजंघा संरक्षण क्षेत्रका व्यवस्थापन कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताए । आर्थिक वर्ष ०७६÷७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषदको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर