मोरंगको उर्लाबारी–१ स्थित टप्पुमा रहेको नुनसरी आधारभूत बिद्यालय सुगममा रहेर पनि दुर्गममा जत्तिकै छ । स्थानीय सरकारको समेत खासै चासोमा नपरेको यस बिद्यालयमा स्वास्थ्य तथा खानेपानीका लागि दाताहरुकै आश कुुरेर बस्नु पर्ने अवस्था रहेको थियो । तर बिदेशमा बसी श्रम गरेर कमाएको पैसा बाट नेपालका यस्तै बिभिन्न ठाउँमा सहयोग गर्दै आएको गैरआवासीय नेपाली सोसल क्लब ओमानले आर्थिक सहयोग गरेको छ । २०४३ सालमा स्थापना भए पनि यस बिद्यालयमा स्रोत र साधनको एकदमै अभाव रहदै आएको थियो ।
मानिसको आधारभूत आवश्यकता स्वच्छ पानी भए पनि यस बिद्यालयका बिद्यार्थीहरुले शुद्ध खानेपानी समेत प्रयोग गर्न पाएका थिएनन् । गैरआवासीय नेपाली सोसल क्लब ओमानले एक कार्यक्रमका बीच खानेपानी तथा शौचालयको लागि १ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली सोसल क्लब ओमानका केन्द्रिय सदस्य ललित बास्तोला सहितको टोलीले एक कार्यक्रमका बीच उक्त नगद हस्तान्तरण गरेको प्रधानाध्यापक भोलानाथ निरौलाले जानकारी दिए ।
क्लबका तर्फ बाट रबि मुखिया, राज थिङलाबु, उर्लाबारी वार्ड नम्बर १ वडाअध्यक्ष मच्चिन्द्र कुमार कार्की , गोबिन्द भट्टराई, घनश्याम भण्डारी लगायत बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । रकम हस्तान्तरण गर्दै क्लबका केन्द्रिय सदस्य ललित बास्तोलाले गैरआवासीय नेपाली सोसल क्लब ओमानको सचिबालय मस्कट बाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए । बिद्यार्थीहरुले शुद्ध पानी पिउन पाएपछि अभिभावक तथा बिद्यार्थीहरु समेत खुशी भएका थिए ।