म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका छवटै स्थानीयतहबाट सङ्कलन गरिएको प्रारम्भिक विवरणअनुसार पाक्नै काटेर खेतमा सुकाएको धान पानीले भिजेर क्षति पुगेको छ भने पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर क्षति पु¥याएको छ । “प्रारम्भिक विवरणअनुसार २०० हेक्टर क्षेत्रफलमा क्षति देखिएको छ, थप विवरण पनि सङ्कलन गरिरहेका छौँ”, अधिकृत सिग्देलले बताउनुभयो ।
अधिकृत सिग्देलका अनुसार जिल्लाको लेकाली क्षेत्रमा काटेर खेतमा सुकाएको धान पाँच दिनसम्मको लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।
जिल्लाकारत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । यस वर्ष धान रोप्ने समयमा पर्याप्त वर्षा भएको, धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने किसानले आशा गरेका थिए तर थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित बनेका हुन् ।
त्यसैगरी केन्द्रका अनुसार ५७ हेक्टर क्षेत्रफलको तरकारी खेतीमा पनि क्षति पुगेको छ । यस वर्ष म्याग्दीमा एक हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । दुई हजार ७०५ हेक्टरमा गरिएको कोदो खेतीमध्ये ८३ हेक्टरमा क्षति पुगेको केन्द्रले जनाएको छ ।
म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्र्याक्टर र मिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्र्याक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो । गत वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन भएकोमा धान भित्राउने समयमा भएको मौसमी प्रतिकुलताका कारण उत्पादन घट्ने भएको छ ।
म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने ३८८ मिटर लामो र १०० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा पुल निर्माण थालेको हो । रु तीन करोडको लागतमा थानी हिमशिखर जेभीले उक्त पुल निर्माण गर्न लागेको हो ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो झोलुङ्गेपुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको भानु माध्यमिक विद्यालय रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।
प्रअ खत्रीका अनुसार पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै रत्नेचौरमा आन्तरिक पर्यटकको समेत वृद्धि हुने आशा गरिएको छ । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले दश महिनामा पुल तयार गर्नुपर्ने छ । “पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरु हुन्छ”, कम्पनीका प्रतिनिधि नरहरि खड्काले भन्नुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिने छ ।
पुल दुई जिल्लाको मितेरी सीमा हुने सर्वसाधारणको आशा छ । पुल निर्माण पछि रत्नेचौरमा उत्पादन हुने कृषिउपज, दूधलगायतका सामानलाई बजारीकरण र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणको लागि सहज हुने स्थानीयको विश्वास रहेको छ ।