बाढीपहिरोमा परी डोटीमा १२ जनाको मृत्यु — OSNepal

बाढीपहिरोमा परी डोटीमा १२ जनाको मृत्यु

LC (KTM) October 20, 2021 0

डोटी-आइतबार साँझदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परेर डोटीमा १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पहिरामा परी मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका इन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली र सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरुवा विक रहेका छन् । योसँगै बाढीपहिरामा परेर मृत्यु हुनेको सङ्ख्या जिल्लामा १२ पुगेको हो ।

उहाँका अनुसार बाढीपहिरामा परेर घाइते हुनेको सङख्या आठ पुगेको छ । त्यस्तै गएराति नै छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकाया मृत फेला परेका छन् ।

यस्तै लगातारको वर्षापछि घर भत्किँदा र पहिरामा पुरिएर मङ्गलबारसम्म नौजनाको मृत्यु भएको थियो । सो घर भत्किँदा जोरायल गाउँपालिका–४ सयगडामा एकैघरका चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उहाँका १८ वर्षीय छोरा मोहन विक र १२ वर्षीया छोरी पवित्रा विक रहेका छन् । सोही घरमा मामाघर आएका १६ वर्षीय रवीन विकको पनि मृत्यु भएको छ । यस्तै जोरायल गाउँपालिका–४ मा पनि पहिराले घर च्यापिँदा ६२ वर्षीय जोगी सार्कीको पनि मृत्यु भएको छ ।

घाइते अवस्थामा रहेका उहाँकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मङ्गलबार राति नै मृत्यु भएको छ । यस्तै पहिरासँगै आएको ढुङ्गा लागेर शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरी बलायरको मृत्यु भएको छ । यस्तै सोमबार रातिको पहिराले घर च्यापिँदा सायल गाउँपालिका–६ का वीरबहादुर कुञ्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुञ्जेडाको मृत्यु भएको थियो । सोही घटनामा परी तीन जना घाइते भएका थिए । यसैगरी केआइसिंह गाउँपालिका–४ मा पहिराका कारण विस्थापित भएका १६० जनालाई गाउँपालिका र स्वरोजगारको कार्यालय, प्रहरी चौकी वायल तथा स्थानीय मन्दिरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पहिराको जोखिममा परी विस्थापित भएका दिपायल सिलगढी नगरपालिका–८ पाङरिका २० घरपरिवारलाई दुर्गा आधारभूत विद्यालयमा राखिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर