काठमाडौँ अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा कालिकोट र डडेलधुराका एक÷एक, सुनसरी र डोटीका दुई÷दुई जना छन् ।
पहिरो खसेर बझाङको थलारा गाउँपालिका–४ मा सात घरका २३ जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सम्पर्कसमेत विच्छेद भएकाले घटनाको यकीन विवरण आउन नसकेको पोखरेलले बताउनुभयो । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमका अनुसार उक्त क्षेत्रमा प्रहरीको टोली घटनास्थलमा गएको भए पनि पुग्न सकेका छैनन् । एक किलोमिटर माथिबाट पहिरो खसेर घर बगाएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिलेसम्म कञ्चनपुरलगायत विभिन्न जिल्लाका ५०० जनाको उद्धार गरिएको छ ।
अहिलेसम्मको प्राप्त विवरणमा बाढी, पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ । त्यसमध्ये १५ जिल्लाका अधिकांश राजमार्ग तथा विद्युत् र फोनसेवासमेत अवरुद्ध भएको छ । भौतिक क्षति धेरै भएको जनाइएको छ ।
महाकाली नदीको खतराको तह सात मिटर रहेकामा झण्डै नौ मिटरमा बगिरहेको जनाइएको छ । मनसुनी वायु प्रणाली बाहिरिएका बेला छुट्टै खालको नयाँ प्रणाली विकास भएर तहसनहस भएको छ । कृषिमा ठूलो असर गरेको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो ।
आजको मध्यरातपछि भने पूर्वतर्फ सर्दै आइ गण्डकी, लुम्बिनी हुँदै वाग्मतीका दक्षिणी भेग र मध्य क्षेत्रमासमेत प्रभाव पार्ने देखिएको छ । यस्तै प्रदेश १ को उत्तरी भूभाग तथा प्रदेश २ मा समेत वर्षा हुने भएकाले उच्च सतर्कतामा रहन स्थानीय प्रशासन र सुरक्षा निकायलाई निर्देशन गरिएको छ ।