वर्षाका कारण जुम्लामा करोडौँको क्षति,घरसहित मन्दिर बगायो — OSNepal

वर्षाका कारण जुम्लामा करोडौँको क्षति,घरसहित मन्दिर बगायो

LC (KTM) October 20, 2021 0

कर्णाली-दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ । बाढीले यहाँ आठ स्थानीय तहमध्ये तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका–४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा ठूलो क्षति भएको छ । क्षतिग्रस्त स्थल तिला गाउँपालिका– ४ मा जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, प्रहरी नायब उपरीक्षक दानबहादुर थापासहित प्रहरी टोली पुगेर फर्केको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईंले कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार क्षतिग्रस्त स्थानमा १८ हेक्टर (३६० रोपनी) धानबाली, १२ वटा स्याउ बगैँचामा पनि क्षति पुगेको बताउनुभयो । धानबालीसहित विद्यालय, काठ चिर्ने, धान कुट्ने मिल, सडक, पूर्वाधारलगायतमा क्षति पुगेको उहाँले बताउनुभयो ।“भारी वर्षाका कारण आएको बाढीले हिमा गाउँपालिका–६ बागबजारकी ३२ रत्ना शाहीलाई बेपत्ता बनाएको छ”, प्रजिअ प्रसाईंले भन्नुभयो, “उहाँको खोजीकार्य जारी रहेको छ ।” उहाँका अनुसार बाढीले जिल्लाभरि के–कति क्षति भएको छ भन्ने पूर्ण विवरण ल्याउन क्षतिग्रस्त स्थलमा प्राविधिक टोली पठाइएको र यही ५ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले त्यसको सार्वजनिक गर्नेछ ।

यता कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले तिला–४ जुम्लामा बाढीले सबैभन्दा बढी १३ हेक्टर कालीमार्सी, पाँच हेक्टर उन्नत जातको धानमा क्षति पुगेको जानकारी दिनुभयो । “दुई घर बगेको छ भने तीन घर जोखिममा छन्”, प्रमुख देवकोटाले भन्नुभयो, “तीन वटा सामुदायिक विद्यालय र तीन साना जलविद्युत् आयोजना, कुलो र पावर हाउसमा क्षति पुगेको छ ।”

तिला गाउँपालिका–४ नुवाकोट गाउँका स्थानीय नयनबहादुर हमालले आफ्नो घरसहित चिरानी तथा कुटानी पिसानी मिल बगाएको बताउनुभयो । नुवोकोट लघु जलविद्युत् आयोजनाका ६० थान विद्युत्को खम्बा, भ¥याङ, तारको क्वायललगायत आवश्यक सामग्रीसमेत बाढीले बगाएर लगेको हमालले जनाउनुभयो ।तातोपानी गाउँपालिका–४ हाँकुमा छ काठेपुल, एउटा विद्यालय र एउटा त्रिवेणी मन्दिर बगाएको स्थानीय लोकेन्द्र रावलले बताउनुभयो । उहाँका अनुसार गिडी खोला किनारका रहेका धानका खेती बाढीले लगेको छ । तिला गाउँपालिका– ३ जुम्ला पहाडा लुम्सेराका स्थानीय विष्णुऋषि भट्टराईले धानखेती बाढीले पुरिएको दुखेसो पोख्नुभयो ।

धान भण्डारण गर्ने तयारीमा रहेका यहाँका किसान बाढीले सबै खेती विनाश गर्दिएपछि अहिले पुर्पुरामा हात लगाउनुपरेको छ । बाढीले धानखेती नष्ट मात्र गरेको छैन उर्वर खेत बगरमा परिणत गरिदिएको छ । तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगीले क्षतिग्रस्त क्षेत्रका प्रभावित नागरिकलाई हाल खानेपानी व्यवस्थापन गर्ने तयारी थालिएको बताउनुभयो । केकति क्षति भएको छ भनेर आजै स्थलगत अवलोकन गरिएको जनाउँदै अध्यक्ष योगीले गाउँ सरकारले बाढीबाट भएको क्षतिको यकीन विवरण सङ्कलन गर्ने र तत्काल राहतका लागि काम अगाडि बढाउने जनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर