अभिनयमा फरक फरक क्षमता बोकेकी नायिका सुरक्षा पन्त एक नयाँ फिल्ममा पृथक भुमिकामा देखिने भएकी छिन् । आमा चलचित्रमा जिवन्त अभिनय प्रस्तुत गरेर थप चर्चा बटुलेकी सुरक्षा पन्त अब लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘बुलाकी’ देखिने पक्का भएको हो । उनलाई यस फिल्ममा नायक नरेन खड्काले साथ दिनेछन् । मोती विष्ट तथा गोपाल विष्टको निर्माणमा बन्न लागेको यस चलचित्रमा दुबै जना अनुबन्धित भएका छन् ।
दशैं लगत्तै छायाँकनमा जान लागेको यस फिल्म नेपालकै डोल्पा जिल्लाका बिभिन्न लोकेसनमा शुटिंग हुनेछ भने चलचित्रको केही शुटिंग मेक्सिकोमा समेत हुने निर्माण पक्षले जनाएको छ । राज बहादुर सानेको कथा रहेको यस फिल्म जारी प्रथाको बिषयमा आधारीत रहने बताइएको छ । अर्काकी श्रीमती बिबाह गरेपनि आफ्नो जारलाई तिर्नुपर्ने क्षति पुर्तीको बिषयलार्ई रोचक ढंगबाट यस फिल्ममा उठान गरिएको बताइएको छ ।
चलचित्रमा डोल्पेली स्थानीय भाषाको प्रयोग हुने निर्माण पक्षले जानकारी दिएको छ । शिब ढकालले छायाँकन गर्ने यस फिल्ममा सुरक्षा र नरेन सहित विराज विष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा, सरस्वती खत्री, प्रकाश कडेल, सन्ध्या पौडेल आदि कलाकारहरु रहने छन् ।