नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालीहरुले दिएको माया कहिल्यै नबिर्सिने बताएका छन् । नेपालीहरुले आफुलाई सुरुवात देखी नै सर्पाेट र माया गरेको उनले बताए । साफ च्याम्पियनसिपको फाइनल पछि संचारमाध्यम संग कुरा गर्दै उनले नेपाली फुटबलको भविष्य राम्रो रहेको बताए । नेपाली फुटबलले बिश्वमा सरप्राइज दिन सक्ने उनले औल्याए । उनले भने – म आफ्नो टिमका सबै सदस्य सहित सबै नेपालीलाई माया गर्छु । नेपाली जनतालाई म के भन्न चाहन्छु भने उनीहरुलाई म माया गरि रहनेछु । उनीहरु यो कुरामा शतप्रशित सुनिश्चित हुनुपर्छ कि नेपाललाई माया गरिरहने छु किनभने उनीहरुले मलाई सर्पोट गरे, माया गरे । सबै भन्दा महत्वपूर्ण भनेको माया नै हो ।
उनले साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई अनुभवको कमी देखिएको बताए । अल्मुताइरीले नेपाली टोलीलाई फाइनल खेलको अनुभव नभएको कारण हार व्यहोरेको बताए । उनले एक मिनेट भित्रै दुई गोल खानु भनेको निकै कठिन भएको तर यस्तो हुनुमा रोहित चिप्लनु भएको उनको भनाई थियो । उनले पानी नपरेको भए रोहित नचिप्लिने र लगत्तै अर्काे गोल नेपालले नखाने बताए । अब आफु एक वा दुई हप्ताको आराम गर्ने र त्यसपछि अरु कुरा सोच्ने बताए ।
अल्मुताइरीले नेपाली फुटबल टिमलाई माया गर्न समेत आग्रह गरे । उनले भने -सबैभन्दा महत्वपूर्ण भनेको १८ तारिखमा नेपाली फुटबल टोली बिहान एयरपोर्ट आउनेछ, र मेरो आग्रह नेपाली जनतासँग यो छ कि उनीहरुले सर्पोट गर्नुपर्छ । यदि नेपालले यही स्तरको खेल खेलेको हेर्न चाहन्छ भने उनीहरुले नेपाली टिमलाई माया देखाउनुपर्छ ।