विजया दशमी : सन्तान प्राप्ति र परिवारको सुखका लागि खोंइछ व्रत — OSNepal

विजया दशमी : सन्तान प्राप्ति र परिवारको सुखका लागि खोंइछ व्रत

LC (KTM) October 14, 2021 0

सप्तरी, २८ असोज – विजया दशमी (नौरथा)मा सन्तान प्राप्ति र सन्तानको दीर्घायूको कामना गर्दै विवाहिता महिलाले व्रत बसी खोंइछ (पोल्टा)भर्ने चलन छ। यो परापूर्वकालदेखि चल्दै आएको यो मिथिलाको नारीहरूको छुट्टै संस्कृति र रीतिरिवाज हो । खोंइछ भर्ने परम्पराको छुट्टै महत्त्व र विशेषता रहेको राजविराज नगरपालिका–१३ बिसहरियाकी ४० वर्षीया ममता चौधरीले बताइन्।

उनको जेठो छोरा जन्मेदेखि उनी खोंइछ भर्दै आएकी छिन् । उनले खोंइछ भर्न शुरू गरेको २० वर्ष भयो । उनले भनिन्, ‘सन्तानको दीर्घायु, सुस्वाथ्यको लागि खोईछ भर्दै आएकी हुँ।’

उनी नुन नखाई, फलफूल खाएर नौ दिनसम्म नवरात्रीको व्रत बस्छिन् । विजया दशमी टीकाको दिन भगवतीलाई खोंइछ भरेर पछि खाने गरेकी छिन् ।

उनले खोंइछ भर्नका लागि नयाँ सुतिको साडी किन्छिन् । त्यसको आँचलमा चामल, दुबो, पाँचवटा सुपारी, पाँचवटा बेसार र पाँच रूपैयाँ देखि क्षमता अनुसार जति रूपैयाँ सकिन्छ, हालेर बाध्ने र भगवती नजिक राखेर सन्तान प्राप्ती, दीर्घायु, सुस्वास्थ्यको कामना गर्छिन् ।

नौरथा नगर्ने महिलाले खोंइछ भर्ने दिन व्रत लिई चोखो भएर खोंइछ भर्ने चलन रहेको सप्तरीको हनुमान कंकालनी नगरपालिकाकी ४५ वर्षिया पुनम देवले बताइन् ।

खोंइछ मुख्य रूपमा अष्टमी, नवमी र विजया दशमी दिनको दिनमध्ये जुन दिन भर्छु भनेर भाकल गरेको हुन्छ । त्यसै दिन भर्ने चलन रहेको उनको भनाइ छ।
राजविराज नगरपालिका–१६ कि ७० वर्षिया रेणुकुमारी झाले भनिन्, ‘सन्तानको दीर्घायुको र सुस्वास्थ्यको कामना गर्दै ५ दशकदेखि अष्टमीको दिन व्रत लिएर माता छिन्नमस्ताको समक्ष खोंइछ भर्दै आएकी छु ।’

खोंइछ जुन उद्देश्यले भरिन्छ, माताले मनकामना पूरा गर्ने जनविश्वास छ। मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोंइछ’ दिने गरिन्छ। ‘खोंइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दुर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ।

खोंइछ दिए भने जीवनमा हरेक पक्षबाट सधैं सम्पन्न रहने विश्वास छ। केही वर्षयता शक्तिपीठहरूमा खोंइछ भर्ने महिलाहरूको वृद्धि भएको देखिन्छ । अष्टमी, नवमी र टीकाको दिन खोंइछ भर्ने व्रतालु महिलाले मन्दिर भरिभराउ भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर