खुल्न थाले अवरुद्ध ग्रामीण सडक ,गाउँबस्तीमा गाडी पुग्न सहज — OSNepal

खुल्न थाले अवरुद्ध ग्रामीण सडक ,गाउँबस्तीमा गाडी पुग्न सहज

LC (KTM) October 10, 2021 0

असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् ।स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर स्काभेटर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएका स्थानीय सडक दसैँको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दसैंँ, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।

जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताउनुभयो ।

ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिनुभयो । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उहाँको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुने गरी सडक खुलाइएको उहाँको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोका कारण अवरुद्ध बनेको सडक खुलाउन थालेको छ ।

गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्ने गरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् ।

मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘‘दसैँमा घर जानेबेला बल्ल बाटो खुल्यो,’’ जैमिनी नगरपालिका– ७ का शिक्षक राजेन्द्र शर्माले भन्नुभयोे, ‘‘करिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’’ ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए । वर्षा केही कम हुन थालेकाले अब ठूलो समस्या नआउने जैमिनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर